काठमाडौं– साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकाल्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले साउदीले दिएको १९१ रनको लक्ष्य ४१ ओभरमै पूरा गरेको हो।
मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले सहज रूपमा लक्ष्य पछ्याउँदै ५ विकेटको जित दर्ता गर्यो। यसअघि नेपालले बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालको जितमा गुल्शन झाले नटआउट ४४ रन बनाए। उनले रोहितकुमार पौडेलसँग मिलेर टोलीलाई जितसम्म पुर्याए। रोहित २४ रनमा अविजित रहे। त्यसअघि इशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २०, अर्जुन कुमालले १५ र दीपेन्द्रसिंह ऐरीले ५ रनको योगदान दिए।
साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले २–२ तथा हिशाम शैखले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.१ ओभरमा १९० रनमा समेटिएको थियो। उसका लागि अब्दुल वहीदले ८९ बलमा ७७ रनको अर्धशतकीय पारी खेले। मुहम्मद आतिफले ३० रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्शन झाले १–१ विकेट लिए।
लगातार तीन खेलमा जित हात पारेसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।