काठमाडौं– पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्गबाट ठूलो परिमाणमा ग्यास भित्र्याइएको छ।
नेपाल आयल निगमका अनुसार पछिल्लो तीन दिनमा मात्रै ८७ हजार ८ सय ७७ सिलिन्डर एलपी ग्यास काठमाडौं उपत्यकामा ल्याइएको छ। सडक अवरुद्ध भएपछि सम्भावित ग्यास अभाव रोक्न निगमले तराईका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास रिफिल गराएर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
निगमको तथ्यांकअनुसार १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार २ सय ४९ सिलिन्डर काठमाडौं आइपुगेका छन्।
काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिन्डरलाई अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा रिफिल गरी वैकल्पिक सडकबाट उपत्यकामा ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।
यसरी ल्याइएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सीताश्री र नमस्ते लगायतका ब्रान्ड रहेका छन्। विभिन्न १६ उद्योगबाट ग्यास रिफिल गरी उपत्यकामा आपूर्ति भइरहेको निगमको भनाइ छ।
कृष्णभिर खण्डको सडक नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाटै ग्यास आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ।
सडक अवरुद्ध भए पनि वैकल्पिक व्यवस्थामार्फत पर्याप्त ग्यास भित्र्याइरहेकाले उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव नहुने निगमको दाबी छ।