जलवायुजन्य विपद्को क्षति सम्बोधनमा नेपालसँग सहकार्य गर्ने कोरियाको प्रतिबद्धता - Chaitanya News
  • 2026-09-06
  • 14:32:44
  • आइतबार,भाद्र २१, २०८३
  • जलवायुजन्य विपद्को क्षति सम्बोधनमा नेपालसँग सहकार्य गर्ने कोरियाको प्रतिबद्धता

    जलवायुजन्य विपद्को क्षति सम्बोधनमा नेपालसँग सहकार्य गर्ने कोरियाको प्रतिबद्धता

    काठमाडौँ– दक्षिण कोरियाले भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विपद्‌प्रतिरोधी पूर्वाधार निर्माणमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा विपद्पछिको पुनर्निर्माण, खोज तथा उद्धार, मानवीय सहायता र जलवायु परिवर्तनका कारण उत्पन्न क्षतिबारे छलफल भएको हो।

    भेटमा मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानबारे जानकारी गराउँदै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको बताए। उनले पुनर्निर्माणलाई दिगो र विपद्‌प्रतिरोधी बनाउन दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

    दक्षिण कोरियाली मन्त्री ह्युनले नेपाललाई पुनर्निर्माणका प्रयासमा सहयोग गर्न कोरिया सरकार तयार रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षति सम्बोधनमा अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गरे।

    उनले जलवायुजन्य जोखिम तथा क्षतिका विषयमा नेपाल र दक्षिण कोरियाले कोपलगायत अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिए। नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने आर्थिक सहयोगका लागि कोरियाले समेत आवाज उठाउने प्रतिबद्धता उनले जनाए।

    भेटमा भोटेकोशी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजीमा भइरहेको प्रगति तथा उद्धार प्रयासबारे समेत छलफल भएको थियो। मन्त्री खनालले प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली परिचालन गरेकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे।

    त्यसैगरी, कोरियाबाट प्राप्त मानवीय सहायता तथा राहत सामग्रीका लागि पनि मन्त्री खनालले धन्यवाद दिए।

    भेटवार्तामा दुवै पक्षले आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

    दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौँ आएका हुन्।