काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न संयुक्त राष्ट्रसंघ महासभा भ्रमणलाई नेपालको जलवायु मुद्दा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्न सुझाव दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले नेपालले भोगिरहेका जलवायुजन्य विपद्का वास्तविक तथ्य, वैज्ञानिक अध्ययन र प्रमाणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रधानमन्त्री साहलाई आग्रह गरेका हुन्।
उनले राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट गरिने प्रस्तुति केवल राजनीतिक भाषण वा औपचारिकतामा सीमित हुन नहुने बताए। त्यसका लागि प्रधानमन्त्रीले आफ्नो सचिवालयमा मात्र निर्भर नभई विश्वविद्यालयका अनुसन्धानकर्ता, विषयविज्ञ तथा विभिन्न क्षेत्रका दक्ष जनशक्तिसँग पर्याप्त परामर्श गरेर तयारी गर्नुपर्ने उनको सुझाव छ।
थापाले पछिल्लो समय नेपालले भोगिरहेका प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलगायतका घटनालाई उदाहरण बनाएर नेपालले न्यून हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषय स्थापित गर्नुपर्ने उनको भनाइ छ।
नेपालले विगतदेखि उठाउँदै आएको जलवायु न्यायको मुद्दालाई अब क्षति र हानि–नोक्सानीको दाबीमा मात्र सीमित नराखी अनुदानमा आधारित जलवायु वित्तका लागि समेत अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नुपर्ने थापाले बताए।
उनले विगतका प्रधानमन्त्रीहरूले राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र कोप–२८ मा अघि सारिएका जलवायु न्यायसम्बन्धी पहलको समेत अध्ययन गरेर त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।
‘हिमालदेखि महासागरसम्म’का मुद्दासहित विगतमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अघि सारेका एजेण्डालाई आधार बनाएर अहिलेको तयारीलाई थप तथ्यपरक र प्रभावकारी बनाउनुपर्ने थापाको भनाइ छ।
देशभित्र र विदेशमा रहेका नेपाली विज्ञ तथा दक्ष जनशक्तिको ज्ञान र अनुभवलाई उपयोग गरेर तयारी गरे मात्रै प्रधानमन्त्रीको भ्रमणबाट नेपालले अन्तर्राष्ट्रियस्तरमा ठोस उपलब्धि हासिल गर्न सक्ने उनले बताए।