महाधिवेशन तोकिएकै मितिमा गर्न कांग्रेसले तल्लो तहको अधिवेशन सार्दै - Chaitanya News
  • 2026-09-06
  • 12:47:51
  • आइतबार,भाद्र २१, २०८३
  • महाधिवेशन तोकिएकै मितिमा गर्न कांग्रेसले तल्लो तहको अधिवेशन सार्दै

    महाधिवेशन तोकिएकै मितिमा गर्न कांग्रेसले तल्लो तहको अधिवेशन सार्दै

    काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।

    कांग्रेसले वडा अधिवेशन एक साता पर सार्ने गरी तयारी गरेको हो। यसबारे आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने भएको छ।

    सभापति गगन थापाले दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकले वडा अधिवेशनसहित तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिका तय गर्ने तयारी छ।

    कांग्रेसले यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। तर बाढीपहिरोका कारण सडकमार्गमा परेको अवरोध, आन्तरिक राजनीतिक छलफल र तीज पर्वलगायतका कारण अधिवेशन प्रक्रिया केही दिन पर सार्नुपर्ने अवस्था आएको नेताहरूले बताएका छन्।

    १० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि कांग्रेसले पार्टी पंक्तिलाई उद्धार तथा राहतमा परिचालन गर्ने निर्णय गरेको थियो। बाढी र त्यसपछि आएको वर्षाका कारण विभिन्न स्थानका सडकमार्ग अवरुद्ध भएकाले पनि वडा अधिवेशन सञ्चालनमा कठिनाइ हुने देखिएको छ।

    यसैबीच महाधिवेशनका विषयमा पार्टीभित्र सहमति जुटाउन संस्थापन पक्षले आन्तरिक छलफललाई पनि अघि बढाएको छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संवाद गरिरहेको बताइएको छ।

    कांग्रेसको १५औँ महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म गर्ने मिति यसअघि नै तय भइसकेको छ। सो मिति कायम राख्दै तल्लो तहका अधिवेशनको तालिका केही दिन पर सार्ने तयारी गरिएको हो।

    पूर्वनिर्धारित कार्यतालिकाअनुसार २७ भदौमा गाउँ/नगर अधिवेशन र ३१ भदौमा प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो। यस वर्ष हरितालिका तीज २९ भदौमा परेकाले महिला प्रतिनिधिको सहभागितालाई समेत ध्यानमा राखेर अधिवेशनको तालिका मिलाउनुपर्ने अवस्था रहेको कांग्रेस नेताहरूको भनाइ छ।

    यता कांग्रेसको अर्को पक्षले भने महाधिवेशन मंसिरमा गर्ने गरी मिति प्रस्ताव गरेको छ। महाधिवेशनसम्बन्धी विवाद अदालतसम्म पुगेको र पुनरावलोकनको मुद्दा पनि विचाराधीन अवस्थामा छ।

    तर संस्थापन पक्षले भने १६ देखि १९ असोजकै बीचमा महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ। संस्थापन पक्षका एक शीर्ष नेताका अनुसार अदालतमा विचाराधीन दुवै रिट फिर्ता लिएर सहमतिको वातावरण बनेमा मात्रै केन्द्रीय महाधिवेशनको मिति केही पर सार्ने सम्भावना रहन्छ।

    उनका अनुसार अहिलेको प्राथमिकता भने तल्लो तहको अधिवेशनको तालिका मिलाएर केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्नु हो।