‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ भन्दै बाढी प्रभावित क्षेत्रमा वाइसिएलका ६ सय युवा - Chaitanya News
  • 2026-10-26
  • 03:57:59
  • आइतबार,कार्तिक ०९, २०८३
  • ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ भन्दै बाढी प्रभावित क्षेत्रमा वाइसिएलका ६ सय युवा

    ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ भन्दै बाढी प्रभावित क्षेत्रमा वाइसिएलका ६ सय युवा

    काठमाडौँ– भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा उद्धार तथा राहतका लागि युवा स्वयंसेवकको परिचालन बढाइएको छ। नेपाली कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन वाइसिएल नेपालले ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ अभियानअन्तर्गत ६ सयभन्दा बढी युवालाई प्रभावित क्षेत्रमा खटाएको हो।

    भदौ १० गते आएको बाढीपहिरोपछि वाइसिएलका सदस्यहरू खोज, उद्धार र राहत वितरणमा परिचालित भएका थिए। त्यसक्रममा सङ्गठनले भदौ ११ गते रक्तदान कार्यक्रम सञ्चालन गरी रगत सङ्कलन गरेको थियो भने भदौ १२ गते सङ्गठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ सहितको केन्द्रीय टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत अनुगमन तथा राहत वितरण गरेको थियो।

    बाढीका कारण खाना पकाउने ग्यासको अभाव भएपछि वाइसिएलले प्रभावित परिवारलाई एक–एक थान ग्यास सिलिन्डर उपलब्ध गराउनुका साथै खाद्यान्न र लत्ताकपडा वितरण गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए।

    उनका अनुसार रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलसँग समन्वय गरी चारवटा गाडीमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याइएको छ। बेत्रावती बजारका पीडितलाई भाँडाकुँडा वितरण गरिएको छ।

    यातायात सम्पर्क विच्छेद भएका धादिङका हात्तीगौँडा, दुप्चीलगायत विकट क्षेत्रमा समेत वाइसिएलका स्वयंसेवक पुगेका छन्। उनीहरूले बाढीपीडित बालबालिका तथा अन्य प्रभावितलाई स्टेशनरी सामग्री र जुत्ताचप्पल वितरण गरेका छन्।

    अध्यक्ष ओलीका अनुसार राहत तथा उद्धारमा खटिएका स्वयंसेवकले कुनै राजनीतिक दलको झन्डा वा ब्यानर प्रयोग गरेका छैनन्। राष्ट्रिय विपद्को समयमा विशुद्ध मानवीय सेवाको भावनाले प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।

    फिल्ड अनुगमनपछि ओलीले विपद्का बेला वैकल्पिक सडक तथा ट्र्याकहरूले प्रभावित क्षेत्रमा आवतजावत र राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार गणतन्त्रपछि निर्माण भएका कतिपय सडक र ट्र्याक अहिले विपद्का समयमा जीवनरेखाका रूपमा प्रयोग भइरहेका छन्।

    वाइसिएलले विपद्को समयमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उद्धार, राहत र पुनर्स्थापनाका काममा निरन्तर स्वयंसेवक परिचालन गर्ने जनाएको छ।