काठमाडौँ– लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा समय तोकेर वा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीका अनुसार आज साँझसम्मको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य सडक खण्डहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
कोशी प्रदेशमा भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग र खोटाङको दिक्तेल–रुपाकोट खण्डस्थित मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छन्। इलाममा भने वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ।
बागमती प्रदेशमा जोखिमलाई मध्यनजर गर्दै काभ्रे खण्डको बिपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण बन्द छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक र म्याग्दीको बेनी–जोमसोम सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक बन्द हुँदा यात्रु र स्थानीयवासीको आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ।
![]()