नेपाल सरकारका पूर्व उपसचिव, लोकप्रिय लेखक तथा सार्वजनिक प्रशासनका अनुभवी व्यक्तित्व ज्ञानेश्वर भट्टराईसँग चैतन्य खबरले समसामयिक विषयमा विशेष संवाद गरेको छ। ३७ वर्ष लामो निजामती सेवाको अनुभव र त्यसमध्ये २४ वर्ष लोकसेवा आयोगमा बिताएका भट्टराईले आफ्नो संघर्षपूर्ण यात्रा, लोकसेवामा प्रवेशदेखि सेवा निवृत्तिसम्मका अनुभव, सफल कर्मचारी बन्न आवश्यक इमानदारी, अनुशासन र सेवाभावबारे खुलस्त धारणा राख्नुभएको छ। उहाँले लोकसेवाको प्रभावकारी तयारी, असफलतापछि पनि निराश नहुने मानसिकता, युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिने सम्भावना तथा कृषि, शिक्षा र उद्यमशीलताको महत्वबारे पनि आफ्ना विचार साझा गर्नुभएको छ। साथै, आफ्नो सम्पूर्ण आर्जित सम्पत्ति सामाजिक हितका लागि फाउन्डेसनमार्फत समर्पण गर्ने निर्णयको पृष्ठभूमि, त्यसको उद्देश्य र समाजप्रतिको उत्तरदायित्वबारे पनि उहाँले स्पष्ट रूपमा प्रकाश पार्नुभएको छ। प्रस्तुत छ, सार्वजनिक प्रशासन, लोकसेवा र राष्ट्र निर्माणका विविध पक्ष समेटिएको ज्ञानेश्वर भट्टराईसँग चैतन्य खबरको विशेष संवाद।
१– यहाँको अहिलेसम्मको यात्रालाई कसरी हेर्नुहुन्छ रु के यहाँले सोचेको जस्तै भयो त ?
जीवन आफैँमा एउटा ठूलो सङ्घर्ष हो। मानिसले जति नै योजना बनाए पनि, परिस्थितिहरूले त्यसलाई बदल्न सक्छन्। मैले मेरो यात्रामा धेरै उतार–चढावहरू देखेको छु। सुरुवाती दिनहरूमा मलाई पनि धेरै शङ्काहरू थिए। तर मलाई लाग्छ, जीवनमा कुनै पनि कुरा सहज रूपमा आउँदैन। हामीले जे जति भोग्यौँ र जे जति अनुभवहरू सङ्गाल्यौँ, त्यसले नै हामीलाई आजको अवस्थामा ल्याइपुर्याएको छ। म मेरा विगतका ती कठिन दिनहरूलाई सम्झिन्छु, जहाँ मैले हार नमानी अगाडि बढ्ने प्रण गरेको थिएँ। त्यो सङ्घर्षले मलाई धैर्य रहन र हरेक परिस्थितिलाई सकारात्मक रूपमा लिन सिकायो। त्यसैले, अहिले पछाडि फर्केर हेर्दा, म सन्तुष्ट छु कि मैले ती सबै चुनौतीहरूलाई सामना गरेँ।
२– यहाँले चुनौतीहरूको कुरा गर्नुभयो, ती चुनौतीहरूलाई पार गर्न यहाँले कस्ता किसिमका रणनीतिहरू अपनाउनुभयो ?
हेर्नुहोस्, मानिसले चुनौतीहरूबाट भाग्नु हुँदैन। जब कुनै समस्या आउँछ, म सबैभन्दा पहिले त्यसको मूल कारण खोज्ने प्रयास गर्छु। मेरो अनुभवमा, धेरै मानिसहरू समस्या देख्नेबित्तिकै डराउँछन् वा अरूलाई दोष लगाउन थाल्छन्। मैले कहिल्यै त्यसो गरिनँ। मैले सधैँ सोचेँ कि समस्या मेरो लागि एक अवसर हो, सिक्ने अवसर। मैले मानिसहरूसँग संवाद गरेँ, सल्लाह लिएँ, र अझ महत्त्वपूर्ण कुरा, म आफैँसँग इमान्दार रहेँ। मैले गरेका गल्तीहरूबाट सिक्ने र तिनलाई नदोहोर्याउने मेरो प्रमुख रणनीति रह्यो। धैर्य राख्नु र निरन्तर प्रयत्न गरिरहनु नै मेरो सफलताको मन्त्र हो। यदि तपाईँले इमान्दारिताका साथ काम गर्नुभयो भने, बाटो जतिसुकै कठिन भए पनि गन्तव्यसम्म पुग्न सकिन्छ। मलाई लाग्छ कि मानिसले आफ्नो आत्मविश्वास कहिल्यै गुमाउनु हुँदैन, चाहे जुनसुकै परिस्थिति किन नहोस्।
३– हजुरले लोकसेवा, जस्तै निजामती सेवामा प्रवेश गर्नुभएको र आज सेवा निवृत्त भइसक्नुभएको छ। हजुरले लोकसेवाको तयारी कहिलेबाट सुरु गर्नुभएको थियो र यसको पछाडि हजुरलाई कसले प्रेरित गर्यो ?
लोकसेवा आयोगको बारेमा मलाई निकै पछि मात्रै थाहा भएको हो। भन्नुपर्दा १७–१८ वर्षपछि बल्ल मलाई लोकसेवा आयोग हुन्छ र यो परीक्षा पास गरेर निजामती सेवामा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा भयो। म सानैदेखि पढाइमा अलिकति राम्रो थिएँ, जसले गर्दा मेरा सबै साथीहरूले मलाई आफ्नो साथी बनाइयो भने पढाइ–लेखाइमा पनि सहयोग हुन्छ भन्ने ठान्नुभयो। साथीहरूको आग्रहमा उहाँहरूले मलाई तिमीले पनि लोकसेवा आयोगको जाँच दिनुपर्छ, हामी खरिदार हुनुपर्छ, नासु हुनुपर्छ भनी धेरै नै प्रेरणा दिनुभयो। त्यतिखेर मलाई अधिकृतु भन्ने पदको बारेमा खासै थाहा थिएन, त्यतिखेर सुब्बाु नै ठुलो कुरा थियो। म त्यतिखेर गाउँघरमा १ देखि ५ कक्षासम्म पढाउँथे। साथीहरूको प्रेरणाले गर्दा नै म लोकसेवा आयोगको जाँच दिन तयार भएँ। मलाई सम्झना छ, मेरो पहिलो एटेम्प्टमा नै म पास भएँ, जबकि मलाई लोकसेवाको बारेमा खासै ठुलो जानकारी थिएन र अहिलेको जस्तो अध्ययन सामग्रीहरू पनि त्यतिखेर उपलब्ध थिएन।
४– हजुरले कुन पदबाट आफ्नो सेवा सुरु गर्नुभयो ?
मेरो सेवाको सुरुवात त्यतिखेरको राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) बाट भएको हो। तर म त्यही पदमा लामो समयसम्म रहिन। लगभग ६ महिनामा नै म लोकसेवाबाटै फेरि पास भएर नासु पदमा उक्लिएँ र त्यसरी मेरो निजामती सेवामा निरन्तरता रह्यो।
५– तपाईंले आफ्नो निजामती सेवाको लामो अवधिमा धेरै महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नुभएको छ। तपाईंको सेवाकालीन अनुभवका मुख्य कार्यहरू र जिम्मेवारीहरू कस्ता थिए ?
मेरो सेवाकालीन अनुभवका अधिकांश जिम्मेवारीहरू केन्द्रमै केन्द्रित थिए। मेरो सुरुवात मालपोत कार्यालय, नवलपरासीमा भूमि प्रशासन, जग्गाको नापजाँच, मालपोत असुली र रजिस्ट्रेसन सम्बन्धी कामहरूबाट भएको थियो। त्यसपछि, म क्षेत्रीय शिक्षा निर्देशनालयमा कार्यरत रहँदा विद्यालयलाई स्वीकृति दिने, अनुदान वितरण गर्ने, शिक्षकहरूको नियुक्ति, पदस्थापन र सरुवा जस्ता शिक्षा सम्बन्धी महत्वपूर्ण कामहरू सम्हालेको थिएँ। २०४२ सालमा लोकसेवा आयोगबाट उत्तीर्ण भएपछि म रक्षा मन्त्रालयमा पदस्थापित भएँ। त्यहाँ रहँदा शाही नेपाली सेनाका विभिन्न पदहरूमा नियुक्ति, सरुवा, स्वदेश तथा विदेशमा हुने तालिमहरू, र सैन्य सामग्रीको खरिद तथा निर्माण सम्बन्धी कार्यहरूमा संलग्न थिएँ। केही समय सामान्य प्रशासन मन्त्रालयमा काम गरेपछि म ५३ सालतिर लोकसेवा आयोगमा कार्यरत भएँ। त्यहाँ मैले झण्डै २४ वर्ष लामो समयसम्म सेवा गरें। लोकसेवामा कार्यरत रहँदा मैले लेखा शाखा बाहेक आयोगले गर्नुपर्ने सबै किसिमका प्रशासनिक कार्यहरूमा संलग्न भएर आफ्नो भूमिका निर्वाह गरेको छु।
६– पछिल्लो समय युवाहरूमा लोकसेवाप्रति आकर्षण र क्रेज बढेको देखिन्छ। यसको पछाडिको मुख्य कारण के हुन सक्छ ? के लोकसेवामा प्रवेश गर्दा जब सेक्युरिटी र स्थायित्वको विषय प्रमुख हो ?
नेपालमा मात्र होइन, संसारका प्रजातान्त्रिक शासन व्यवस्था भएका हरेक देशमा लोकसेवा आयोग हुन्छ किनभने लोकसेवा र न्यायपालिका प्रजातन्त्रका मेरुदण्ड हुन्। लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्दा अन्य क्षेत्रको तुलनामा तलब सुविधा केही कम हुन सक्ला, तर यो नेपाल र विश्वव्यापी रूपमै एक चुनौतीपूर्ण र प्रतिष्ठित कार्य हो। यो आफैमा व्यक्तिको योग्यता र क्षमता पुष्टि गर्ने एउटा आधार वा प्यारामिटरु हो। फलानो व्यक्तिले लोकसेवा पास गरेको छु भन्नासाथ समाजमा एक किसिमको मर्यादा र डिग्निटीु कायम हुन्छ। लोकसेवा पास गरेर निजामती वा राज्यको सेवामा प्रवेश गर्नु भनेको म राज्यको सेवक हुँ भन्ने भावनाको विकास हुनु हो। यसले समाजमा एक किसिमको पहिचान दिलाउँछ र सेवाको सुरक्षाको कुरा त आफ्नो ठाउँमा छँदैछ। त्यसैले लोकसेवा आयोगप्रति युवाहरूको आकर्षण नेपालमा मात्र नभई विश्वव्यापी रूपमै रहेको छ।
७– आजको दिनमा एकातर्फ लोकसेवाप्रतिको आकर्षण बढ्दै गइरहेको छ भने अर्कोतर्फ युवाहरू विदेशिने क्रम पनि उस्तै छ। नेपालमै बसेर लोकसेवामार्फत वा अन्य कुनै पेसा अङ्गालेर सफल हुन सकिन्छ। यस्तो अवस्थामा आजका युवाहरूका लागि हजुरको के धारणा छ ?
यो प्रश्न अत्यन्तै सान्दर्भिक छ। हेर्नुहोस्, लोकसेवा आयोग उत्तीर्ण गरेर न्याय सेवा, बैंक, सरकारी वा निजी संस्थाका साथै सुरक्षा निकायमा पनि लोकसेवाको भूमिका बढेको छ। त्यसकारण विभिन्न राज्यका सेवामा लोकसेवाको भूमिका बढ्दै गएकोले यसप्रति आकर्षण हुनु स्वाभाविक हो। तर, लोकसेवा पास गरेर राज्यको सेवामा लाग्नु मात्रै अन्तिम वा एउटै उपाय होइन। सेवा गर्नका लागि राष्ट्रलाई अन्य विभिन्न माध्यमहरू पनि हुन सक्छन्। जस्तैस् शिक्षक भएर शिक्षाको क्षेत्रमा, व्यापारी, व्यवसायी वा उद्योगपति बनेर पनि हामीले देशको सेवा गर्न सक्छौँ। यी सबै क्षेत्रहरू पनि त राष्ट्रका एउटा–एउटा अङ्ग हुन्, जुन आफैँमा एक प्रकारको सेवा हो। यिनमा पनि राम्रोसँग काम गर्ने हो भने विदेश जानुपर्ने कुनै अवस्था छैन। नेपाल त यस्तो भूमि हो, जहाँ हामीले विदेशमा जानुपर्ने हाम्रो अवस्था नै छैन। खाली अलिकति सही मार्गनिर्देशन वा गाइडन्सुको कमी छ। हाम्रो देशको जलस्रोत, वन–जङ्गल, र वातावरणीय अवस्था हेर्ने हो भने नेपालीहरू विदेशिनु पर्दैन। मलाई के लाग्छ भने, अहिले लगभग ६० हजार देखि १ लाखको हाराहारीमा युवाहरू विदेशमा छन् भनी अनुमान गर्न सकिन्छ। ती सबैलाई नेपालमै रोजगारी दिएर, कम्तीमा १० लाख विदेशी युवाहरूलाई नेपालमा रोजगारीमा ल्याउन सकिन्छ भन्ने मलाई विश्वास छ। किनभने हामीले कृषि, जलस्रोत, विद्युत उत्पादन, र सिँचाइलाई प्राथमिकतामा राखेर सुदृढ गर्ने हो भने र पर्यटन उद्योगलाई राम्रो गर्ने हो भने, नेपालमा पर्यटकहरूको असीम सम्भावना भएको देश हो। बुद्धको देश, हिमालको देश, नदी–नालाको देश, र वन–जङ्गलको देश भएकोले यहाँ लगभग १ करोड पर्यटकहरू आउने सम्भावना देखिन्छ।
८– हजुरले अहिलेसम्म दर्जनौँ पुस्तकहरू प्रकाशित गर्नुभएको छ, जसलाई पढेर हजारौँ युवाहरूले लोकसेवा पास गरे। हजुरको दृष्टिकोणमा एउटा विद्यार्थीको स्मार्ट स्टडी टिप्सु कस्तो हुनुपर्छ ? उसले कितावलाई अध्ययन गर्ने कि बाहिरको कुरा खोज्ने कि सोध्ने ?
स्टडीका विभिन्न माध्यमहरू हुन्छन्। एउटै मात्रै माध्यम वा उपाय अल्टिमेटु हो भनेर भन्न सकिँदैन। अध्ययन गर्ने शैली युग सापेक्ष र एज–ओरिएन्टेड हुन्छ। हाम्रो पालामा किताब नै मुख्य स्रोत थियो। तर अहिले त आईटी, कम्प्युटर र एआईको युग छ। तथापि, यति भन्दै गर्दा पनि किताबप्रतिको आकर्षण विश्वव्यापी छ। किताबको महत्व कहिल्यै समाप्त हुँदैन। बरु यो त पुनः रिभाइभु भइरहेको छ। अहिले हामीले देखेका छौँ, कम्प्युटर र मोबाइलको प्रयोगलाई क्लासमा नियन्त्रित गरिएको छ, किनभने यसले मात्रै काम गर्दैन। हामीले जे जति टेक्नोलोजिकल विकास गर्यौँ, ती सबैको आधार त पुस्तक नै हो। त्यसैले, पुस्तकलाई यदि पछाडि पारियो भने, हाम्रा पुस्ताहरूलाई नै घाटा हुन्छ। हामीले नयाँ टेक्नोलोजीलाई स्वीकार गर्नुपर्छ, तर हाम्रो परम्परागत अध्ययन सामग्रीहरू—जस्तै किताब पढ्ने, कलमले नै कापीमा लेख्ने मसी प्रयोग गरेर यसलाई कहिल्यै नामेट पार्नु हुँदैन। यदि यसलाई हामीले अस्वीकार गर्यौँ भने, यसले हाम्रो करियरलाई समेत असर पार्न सक्छ। तसर्थ, हामीले दुवैको सन्तुलन मिलाउन आवश्यक छ।
९– धेरै युवाहरू लोकसेवा आयोगको वर्षौंदेखि तयारी गर्छन्, तर सफल हुन सक्दैनन्। यसले गर्दा उनीहरूमा तनाव, निराशा र डिप्रेसनको समस्या देखिन थालेको छ। यस्तो अवस्थामा युवाहरूले आफ्नो मानसिक स्थिति सुदृढ बनाउन के कस्ता उपायहरू अपनाउने ?
म लोकसेवा आयोगमा लामो समयसम्म काम गरेको व्यक्तिको नाताले, आयोगका कुराहरू राम्ररी अध्ययन गरेर छिट्टै सफलता प्राप्त गरेका व्यक्तिहरूलाई पनि मैले देखेको छु। लोकसेवा आयोग पास गर्न नसकेर तपाईंले भनेजस्तै डिप्रेसनमा गएका व्यक्तिहरूलाई पनि मैले नजिकबाट नियालेको छु। वास्तवमा मैले दुई किसिमका व्यक्तिहरू देखेको छु। लोकसेवा आयोग पास गरेर न्याय सेवा वा राष्ट्रको सेवामा प्रवेश गर्ने एउटा अवसर हो, तर यो बाहेक पनि देशको सेवा गर्ने अन्य थुप्रै माध्यमहरू हुन सक्छन्। कृषि, व्यापार, उद्योग जस्ता क्षेत्रमा काम गर्नु पनि राष्ट्रको सेवा नै हो। आखिर लोकसेवा पास गर्नु नै जीवनको एकमात्र सफलता होइन।
जो व्यक्ति निकै मिहिनेत गरेर पनि पास हुन सक्नुभएन, उहाँहरूका लागि अरू विभिन्न क्षेत्रमा अवसरहरू छन्। डिप्रेसनमा जानु कुनै समस्याको समाधान होइन। किनभने जोले लोकसेवाको तयारी गर्नुभएको छैन वा जसलाई यसको चासो नै छैन, ती व्यक्तिहरू पनि डिप्रेसनमा गएका हुन सक्छन्। त्यसैले लोकसेवा पास गर्न नसक्दैमा डिप्रेसनमा गएको भन्न मिल्दैन। अर्को मुख्य कुरा, सफलताका विविध बाटाहरू हुन सक्छन्। जस्तो, परिवारको वातावरणले पनि सकारात्मक प्रभाव पार्छ। कुनै पनि व्यक्ति जो लोकसेवामा असफल हुन्छ, ऊ अरू कुनै क्षेत्रका लागि फिट व्यक्ति हुन सक्छ। उहाँले गर्न सक्ने काम के हो तरु अवसरहरू थुप्रै छन्, ती अवसरहरूको खोजी गर्नु आजको आवश्यकता हो। हामीले आफ्नो योग्यता र क्षमतालाई चिन्नुपर्छ र त्यसै अनुसार अघि बढ्नुपर्छ। लोकसेवा आयोगमा असफल हुनु जीवनको अन्त्य होइन, बरु अन्य क्षेत्रहरूमा नयाँ सुरुवातको एक अवसर हो।
१०– अहिले निजामती सेवामा काम गरिरहँदा मानिसहरूमा निजामती सेवा भनेको ढिलासुस्ती र भ्रष्टाचार हुने क्षेत्र हो भन्ने एउटा गलत बुझाइ छ। तपाईँको सेवाकालमा के तपाईँले यस्ता कुराहरू भोग्नुभयो ?
हेर्नुहोस्, सुरुमा कुनै पनि व्यक्ति सेवामा प्रवेश गर्दा भ्रष्टाचार गर्ने उद्देश्यले प्रवेश गरेको हुँदैन। उसको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको सेवा गर्ने नै हुन्छ। निजामती सेवामा ढिलासुस्ती हुन्छ भन्ने कुरा एउटा भाष्य मात्र बनाइएको हो। वास्तवमा त्यस्तो छैन। सबै कार्यालयमा जाँदा भ्रष्टाचार हुन्छ वा केही कामै हुँदैन भन्ने कुरा सत्य होइन। निजामती सेवामा प्रवेश गर्ने केही व्यक्तिहरूले गर्दा यो सेवा बदनाम भएको हो।
हाम्रो निजामती सेवा भ्रष्ट नभई एकदमै प्रभावकारी र सेवामूलक छ। त्यहाँ यदि कोही त्यस्ता भ्रष्ट व्यक्तिहरू छन् भने तिनीहरूको पहिचान गरेर कारबाही गर्नुपर्छ र राम्रो काम गर्ने व्यक्तिहरूलाई प्रोत्साहन स्वरूप काम गर्ने राम्रो वातावरण तयार पार्नुपर्छ। यदि हामीले राम्रो काम गर्नेलाई सम्मान गर्यौँ भने निजामती सेवा अझै राम्रो हुन्छ।
मेरो कुरा गर्ने हो भने, मैले लामो समयसम्म निजामती सेवामा बिताएकोले यस्ता कुनै पनि दबावको महसुस गर्नुपरेन। आफ्नो काम र कर्तव्यमा निष्ठावान् हुने हो भने यस्ता कुनै पनि दबावको सामना गर्नुपर्ने अवस्था आउँदैन। म सधैं राम्रा काम गर्ने पक्षमा छु, यदि केही दबाव आए तापनि त्यसलाई फेस गर्ने आँट छ भने कसैले केही गर्न सक्दैन।
११– सरकारी कर्मचारीले यति धेरै इमान्दार भएर काम गरिहँदा पनि युवाहरूको आकर्षण पैसा र पावरमा किन देखिन्छ ? यस्तो प्रवृत्तिलाई कसरी सुधार्ने ?
पैसा र पावर मुख्य कुरा होइनन्। कर्मचारी सेवामा प्रवेश गरेपछि पहिलो प्राथमिकता सेवा गर्ने नै हुनुपर्छ र त्यसपछि मात्र आफ्नो करियर कसरी राम्रो बनाउने भन्ने कुरा आउँछ। म निजामती सेवामा सानो काम गरेँ, तर त्यो सानो काम नै राष्ट्रको सेवाका लागि ठुलो योगदान थियो। एउटा सानो दियोले त एउटा कोठा उज्यालो बनाउन सक्छ, त्यसैले त्यसको सुरक्षा गरिनुपर्छ।
मानिसको मन सकारात्मक दृष्टिकोषले भरिएको हुन्छ, तर अलिकति नकारात्मक दृष्टिकोणले गर्दा यो सेवा केही बदनाम भएको छ। यस्ता मानिसहरूलाई बेलैमा पहिचान गरी उनीहरूलाई सुधार गर्ने वा दण्डित गर्ने वातावरण सिर्जना गर्न सकिन्छ। म निजामती सेवामा आएका नयाँ युवाहरूलाई यही भन्छु कि यहाँ आइसकेपछि सेवाको भावनालाई सधैं माथि राख्नुहोस्, पैसा र पावरको पछि नलाग्नुहोस्। यसले तपाईँको करियरलाई राम्रो बनाउँछ र राष्ट्रको उन्नतिमा पनि सहयोग पुग्छ।
राजनीति भनेको जहिले पनि केही समयका लागि हुन्छ, तर निजामती सेवा भनेको सधैंको लागि हो। राजनीतिको छायाँमा प्रशासनलाई राख्नुहुँदैन। राजनीतिक दल र प्रशासनिक कर्मचारीको लक्ष्य राष्ट्र र जनताको हित हुनुपर्छ।
१२– अहिलेको सूचना प्राप्त जानकारी अनुसार हजुरले आफ्नो सम्पूर्ण आर्जित सम्पत्ति फाउन्डेसनमार्फत दान गर्नुभएको छ। यसका बारेमा हाम्रा दर्शकहरूलाई केही जानकारी दिनुहोस् न।
मैले लोकसेवा आयोगको तयारी गर्ने क्रममै नोबेल पुरस्कार र रामन म्यागासेसे पुरस्कारको स्थापना कसरी भयो भन्ने कुरा अध्ययन गरेको थिएँ। अल्फ्रेड नोबेल एक वैज्ञानिक हुनुहुन्थ्यो र उहाँले आफ्नो जीवनकालमा धेरै उपयोगी आविष्कारहरू गर्नुभयो। डायनामाइटजस्तो विस्फोटक पदार्थको आविष्कारबाट उहाँले अर्बौं रुपैयाँ कमाउनुभयो र त्यो सम्पत्तिलाई मानव कल्याणका लागि प्रयोग गर्न ुनोबेल फाउन्डेसनुको स्थापना गर्नुभयो। त्यही कुराले मलाई सानैदेखि प्रेरित गर्यो। म पनि एक न्यून९मध्यम वर्गीय परिवारको व्यक्ति हुँ, त्यसैले मेरो सम्पत्ति ठूलो त छैन, तर मैले जे जति आर्जन गरेँ, त्यो सबै राष्ट्र र जनताकै देन हो। विदेशमा तालीम लिन जाँदा होस् वा सरकारी सेवामा रहँदा, मैले जे जति अवसर पाएँ, त्यो सबै देशले नै दिएको हो। त्यसैले आफ्नो पैतृक सम्पत्तिमा प्राप्त अंशसहित सबै सम्पत्ति जोडेर मैले नेपाल विकासका लागि ज्ञानशरण फाउन्डेसनु स्थापना गरेँ। मेरो बाल्यकालदेखिको केही गर्नेु सपना र कोरोना महामारीको समयमा धेरै मानिसको मृत्यु हुँदा म बाँचेको हुनाले, केही न केही गर्ने हुटहुटीले मलाई यसतर्फ डोर्यायो। फाउन्डेसन स्थापना गर्दाको बखत २ करोड १ लाखको नन–पेरिसिएबलु कोष बनाएको थिएँ, जुन अहिले बढेर २ करोड ३५ लाखभन्दा माथि पुगेको छ। सुरुमा शिक्षामा केही गर्ने सोच थियो, तर पछि कृषिमा बाबुबाजेले गरेको काम र आफ्नो पनि अनुभव भएकाले कृषि क्षेत्रलाई नै प्राथमिकता दिँदै ुज्ञानशेश्वरी कृषि उद्यमशीलता सम्मानुको थालनी गरेँ। पुरस्कारभन्दा पनि सम्मानको भावनाले प्रत्येक वर्ष नवीन कृषि कार्य गर्नेहरूलाई सम्मानित गर्दै आएको छु। अहिलेसम्म २०७८ देखि २०८२ सालसम्म पाँच पटक यो सम्मान वितरण गरिसकेका छौँ।
१३– नेपाली समाजमा बाबुआजेको आर्जित सम्पत्ति सन्तानलाई हस्तान्तरण गर्ने एउटा परम्परागत चलन छ। तर, तपाईंले आफ्नो जीवनभरको कमाइ फाउन्डेसनमा राखेर सामाजिक कार्यमा लगाउने जस्तो साहसिक निर्णय गर्नुभयो। यस्तो निर्णय गर्दा तपाईंको परिवार वा समाजबाट कस्तो प्रतिक्रिया आयो ? के कसैले तपाईंलाई प्रश्न गरेनन् कि आफ्नो सन्तानको लागि राख्नुपर्ने पैसा किन यसरी खर्च गरिरहनुभएको छ ?
यो निकै रोचक र गम्भीर प्रश्न हो। मलाई यो विचार कसरी आयो भन्ने सन्दर्भमा, मैले लोकसेवा आयोगको तयारी गर्दा नोबेल पुरस्कारु र रामन म्यागासेसे पुरस्कारुको स्थापनाको इतिहास पढेको थिएँ। अल्फ्रेड नोबेलले आफ्नो आविष्कारबाट आर्जित अर्बौंको सम्पत्ति मानव कल्याणका लागि प्रयोग गर्न नोबेल फाउन्डेसनु खडा गर्नुभयो। त्यो कुराले मेरो बाल्यकालदेखि नै मन छोएको थियो। म एक सामान्य परिवारको मान्छे हुँ, मेरो सम्पत्ति धेरै त छैन, तर मैले जे जति कमाएँ, त्यो देश र जनताको अवसरको कारणले सम्भव भयो। तसर्थ, आफ्नो पुर्ख्यौली सम्पत्तिसहित सबै कमाइ जोडेर मैले नेपाल विकासका लागि ज्ञानशरण फाउन्डेसनु खडा गरेँ।
मेरो यस्तो निर्णय देखेर सुरुमा केही व्यक्तिहरूले प्रश्न उठाउनु अस्वाभाविक होइन। विशेष गरी युरोप वा स्वीडेनजस्ता धनी र शिक्षित देशका मानिसहरूमा समेत धनप्रतिको मोह हुने गर्छ। नोबेलले आफ्नो सम्पत्तिलाई ट्रस्टमा परिणत गर्दा उहाँको परिवारमा पनि विवाद नभएको होइन, तर उहाँले स्पष्ट भन्नुभएको थियो कि जुन सम्पत्ति मैले घोषणा गरिसकेँ, त्यसबाट पछि हट्न मिल्दैन। विकसित देशमा त यस्तो अवस्था छ भने, हाम्रो जस्तो आर्थिक क्षमता कम भएको र बाबुआजेले जसरी भए पनि सन्तानलाई सम्पत्ति जोडिदिनुपर्छ भन्ने संस्कार भएको देशमा यस्तो कार्यको विरुद्धमा केही मानिसहरूले असन्तुष्टि जनाउनु स्वाभाविकै हो। तर, मैले गरेको काम कुनै गलत उद्देश्यका लागि नभई देश र समाजको हितका लागि भएकोले कसैले पनि मलाई सार्वजनिक रूपमा विरोध गर्न सकेनन्। यो कुरा समाज र देशका लागि नै उपयुक्त छ भन्नेमा म पूर्ण विश्वस्त छु।
१४– हजुरले भन्नुभयो कि यस फाउन्डेशनले अधिकतम कृषिमा नै काम गर्छ। फाउन्डेशनले कृषिलाई नै प्राथमिकता दिनुको कारण के हो ?
जुनसुकै काम गर्दा पनि व्यक्तिले पहिले बाँच्नुपर्छ। जीवन धान्नका लागि ‘कृषि मूलतः जीवन’ भन्ने सिद्धान्त छ। जीवनको आधार नै कृषि कर्म हो। जबसम्म हामीले कृषिलाई अगाडि बढाउँदैनौं, तबसम्म देशले प्रगति गर्न सक्दैन। कुनै समय थियो, हामी कृषि सामानहरू धेरै निर्यात गर्थ्यौं। मलाई राम्रोसँग याद छ, नेपालमा धान, चामल उत्पादन तथा निर्यात कम्पनीको साइनबोर्ड नै थियो।
तर, आज स्थिति के छ भने हामी ठूलो परिमाणमा कृषि सामग्रीहरू आयात गर्छौं। अहिले कम्तीमा १० अर्बभन्दा बढीको कृषि सामग्रीहरू प्रत्येक वर्ष आयात गरिन्छ। यदि हामीले त्यति मात्रै आयातलाई प्रतिस्थापन गर्न सक्यौं भने पनि प्रत्येक वर्ष लाखौं व्यक्तिहरू करोडपति हुने अवस्था छ। कृषिमा धान, चामलको मात्र कुरा होइन, निर्यातको सम्भावना धेरै छ।
आत्मनिर्भरताको कुरा गर्दा पनि, यदि हामी कृषिमा आत्मनिर्भर हुन सक्यौं भने देशको अर्थतन्त्रमा नै ठूलो टेवा पुग्छ। त्यसैले कृषिलाई पछि पार्नु भनेको हामी आफैंलाई पछि पार्नु हो, नेपालको अर्थतन्त्रलाई नै पछि पार्नु हो। राज्यको ध्यान पनि त्यसमा पुगिसकेको छ। हामी सबैको एउटै उद्देश्य हुनुपर्छ—कृषिलाई आत्मनिर्भर र निर्यातमुखी बनाउने। मेरो उद्देश्य पनि त्यही हो, मैले कृषिलाई नै प्राथमिकतामा राखेको छु।
१५– हजुरले जुन रकम लगानी गर्नुभएको छ वा फाउन्डेशनबाट सहयोग जान्छ, त्यसको अनुगमन र सदुपयोग भइरहेको छ वा दुरुपयोग भइरहेको छ भन्ने कुरा कसरी मूल्यांकन गर्नुहुन्छ ?
दुरुपयोग त पक्कै भएको छैन, तर मेरो उद्देश्यअनुसार त्यसले सय प्रतिशत नै परिणाम दिएको छ भन्ने कुरा प्रत्येक पटक मैले आशा गरेको छैन। दुरुपयोग त पक्कै भएको छैन। त्यसबाट फाइदा लिने, त्यसमा गोष्ठी गर्ने, भोजभतेर गर्ने काम त हुँदैन, किनभने त्यो कृषकको हातमा गइसकेपछि कृषकले त्यसको दुरुपयोग गर्दैनन्।
तर, म के सोच्छु भने मैले यदि यसमा एक हजार रुपैयाँ दिएँ भने, त्यसमा कम्तीमा तीन हजारको उत्पादन भइदिओस्। व्यक्तिले आफ्नो मेहनतबाट, खाली श्रम मात्रै त्यसमा प्रयोग गर्न सक्यो भने एकबाट तीन गर्न सकिन्छ। त्यो सदुपयोग नभएको होला, तर दुरुपयोग त पक्कै भएको छैन। जहाँसम्म मूल्यांकन को कुरा छ, मैले दिएको कुराको के कति भयो भन्दै हिँड्ने त म हिँडेको छैन, किनभने त्यो एक प्रकारको अवार्ड दिएको जस्तो हो।
तथापि, हामीले दिँदाखेरि के भन्छौं भने, तपाईंहरूले यसबाट राम्रो सदुपयोग गर्नुहोलाू भन्ने कुरा हामी राख्छौं। कयौं व्यक्तिहरूलाई यस्तो संस्थाले हामीलाई अवार्ड दिँदैछ भन्ने थाहै हुँदैन। अहिले सम्म दुई लाखभन्दा माथि एउटा व्यक्ति वा संस्थालाई दिन्छौं। त्यो दुई लाख भनेको त उसले हेर्ने हो भने राज्यबाट नै हामीलाई प्राप्त भएको छैन भन्नुहुन्छ।
कयौंले त अनुदानको रूपमा हो कि भन्नुहुन्छ, तर यो पुरस्कार (सम्मान) को रूपमा दिइन्छ। हामीले त्यो रकम दिँदाखेरि उहाँहरूलाई भन्छौं, तपाईंले आफ्नो जीवनबाट कमाएको पैसाले आफू रमाइलो गर्नुपर्ने, आफूलाई खर्च गर्नुपर्ने कुराहरू हामीलाई ल्याएर जुन दिनुभयो, यसको हामी १०० प्रतिशत सदुपयोग गरेर यसको निरन्तर रूपमा तपाईंलाई यसको बारेमा जानकारी गराउँछौं। र, त्यसअनुसार धेरैले काम पनि गर्नुभएको छ, हामीलाई खुसी लाग्छ।
हामी उहाँहरूको समृद्धिमा एउटा सानो प्रयास मात्रै गरिरहेका छौं। कुनै व्यक्तिलाई हामीले धनी बनाउने होइन, हामीले त समृद्धिको लागि एउटा सानो प्रयास गरेका हौं र त्यसमा हामी सफल पनि छौं।
१६– अन्त्यमा, लोकसेवा आयोगमा प्रवेश गर्न चाहने नयाँ युवाहरूलाई पूर्व प्रशासकको रूपमा हजुर के सन्देश दिन चाहनुहुन्छ ?
जो इच्छुक लोकसेवा आयोगको जाँगर दिएर राष्ट्रसेवाको लागि तम्तयार हुनुहुन्छ, लोकसेवा आयोगले उनीहरूको योग्यताको पक्कै पहिचान गर्छ। लोकसेवा आयोग भनेको एकैचोटि पास हुनुपर्छ भन्ने पनि छैन। निरन्तर रूपमा लागि रह्यो भने सफलता हासिल गर्न सकिन्छ। आफ्ना योग्यता र क्षमतालाई पहिचान गर्ने र निरन्तर प्रयास गर्ने ठाउँ हो लोकसेवा आयोग। म आफू पनि यसको एक उदाहरण हुँ। मेरो पुस्तामा लोकसेवा पास गर्ने कोही थिएन। तर म आफ्नो प्रयास र मेरो विगतका अनुभवका आधारमा यस संस्थाप्रति आभारी छु, जसले मलाई एउटा नयाँ अवसर दियो र सफल बनायो। त्यसैले, युवाहरूले हिम्मत नहारी आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयत्न जारी राख्नुपर्छ।