बजेट खर्चदेखि खरिद प्रक्रियासम्म ४७ बुँदे निर्देशन, कार्यान्वयनमा अर्थ मन्त्रालयको कडाइ - Chaitanya News
  • 2026-07-22
  • 12:59:44
  • बुधबार,साउन ०६, २०८३
  • बजेट खर्चदेखि खरिद प्रक्रियासम्म ४७ बुँदे निर्देशन, कार्यान्वयनमा अर्थ मन्त्रालयको कडाइ

    बजेट खर्चदेखि खरिद प्रक्रियासम्म ४७ बुँदे निर्देशन, कार्यान्वयनमा अर्थ मन्त्रालयको कडाइ

    काठमाडौँ– चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र समयबद्ध बनाउन अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी निकायका लागि ४७ बुँदे विस्तृत मार्गदर्शन जारी गर्दै कार्यान्वयनमा कडाइ गरेको छ।

    गत सोमबार जारी गरिएको मार्गदर्शनमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने, बजेट तोकिएको उद्देश्यअनुसार मात्र खर्च गर्ने, फजुल खर्च नियन्त्रण गर्ने तथा विकास आयोजनाको कार्यसम्पादनलाई नियमित अनुगमन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

    मन्त्रालयले सबै निकायलाई स्वीकृत बजेट तथा कार्यक्रम लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआईएस) मा समयमै अद्यावधिक गर्न, वार्षिक कार्ययोजना र खरिद योजना प्रारम्भमै तयार गरी कार्यान्वयनमा लैजान तथा आयोजना कार्यान्वयनका क्रममा देखिने समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ।

    सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक, पारदर्शी र समयबद्ध बनाउन, कार्यसम्पादनका आधारमा मात्रै भुक्तानी गर्न तथा स्रोत–साधनको मितव्ययी उपयोग सुनिश्चित गर्न पनि मार्गदर्शनले जोड दिएको छ।

    त्यसैगरी, राजस्व संकलन सुदृढ गर्ने, आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउने, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगमा ध्यान दिने तथा आर्थिक अनुशासन कायम राख्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको छ।

    अर्थ मन्त्रालयका अनुसार आयोजना तथा कार्यक्रमको नियमित अनुगमन, प्रगति समीक्षा र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउँदै बजेट कार्यान्वयनमा हुने ढिलाइ, कमजोर खर्च क्षमता र लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसक्ने समस्यालाई सुधार गर्ने उद्देश्यले यो मार्गदर्शन जारी गरिएको हो।