चितवन– अण्डाको मूल्य बढेको छ। ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य फेरी बढ्न थालेको हो । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो।
नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु. ४५० बाट ५०० पुगेको छ। मध्यम अण्डा रु. ४२० वाट ४७० पुगेको छ। सानो अण्डा रु. ४१५ पुगेको छ। सबैमा प्रतिक्रेट रु. ५० बढेको हो।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए। दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्ड फ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए। जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु.५५० मा बिक्री भएकामा झरेर रु.४५० मा आइपुगेको थियो। एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ। प्रतिगोटा रु.१९ रुपैयाँ १२ पैसा पर्न आउँछ। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए।
मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन्। अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए। बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्छ भने।