विचारको बीउदेखि कर्मको फलसम्म : गीताले सिकाएको जीवनविज्ञान  - Chaitanya News
  • 2026-07-21
  • 22:15:29
  • मंगलबार,साउन ०५, २०८३
  • विचारको बीउदेखि कर्मको फलसम्म : गीताले सिकाएको जीवनविज्ञान 

    विचारको बीउदेखि कर्मको फलसम्म : गीताले सिकाएको जीवनविज्ञान 

    तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार:

    गीताको सन्देश अनुसार, मन एक सशक्त माध्यम हो जसले मानवलाई आफ्नो नियन्ता पनि बनाउँछ र बन्धक पनि। अध्याय ६ मा, योगवासनमा, श्रीकृष्णले अर्जुनलाई भनेका छन् “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” अर्थात्, मन नै मानिसको बन्धन र मोक्षको कारण हो। यसबाट स्पष्ट हुन्छ कि सोच र मानसिक अवस्थाले मानिसलाई स्वतन्त्र वा दास बनाउने क्षमता राख्दछ। नकारात्मक र विकृत सोचले जीवनमा दुःख र अवरोध ल्याउँछ भने सकारात्मक, शान्त र विवेकी सोचले नै मुक्ति र शान्तिको मार्ग खोल्दछ।

    अर्कोतर्फ, गीता कर्मयोगमार्फत कर्म गर्दा पनि सोचलाई शुद्ध र उद्देश्यपूर्ण बनाइराख्न जोड दिन्छ।  कर्म मात्र होइन, त्यसको मनोवृत्ति, दृष्टिकोण र भाबले पनि जीवनको परिणाम निर्धारण गर्छ। यदि व्यक्ति घृणा, द्वेष र लोभपूर्ण सोचमा हराउँछ भने कर्मले नकारात्मक परिणाम दिन्छ; तर यदि त्याग, समत्व र सेवा भावले भरिएको मनले कर्म गर्छ भने त्यहाँ सफलता र शान्ति सुनिश्चित हुन्छ। यसले सोच र कर्मबीचको गहिरो अन्तरसम्बन्धलाई स्पष्ट पार्दछ।

    मानिसको जीवन बाहिरबाट होइन, भित्रबाट निर्माण हुन्छ। बाह्य परिस्थितिले अवसर दिन सक्छ, चुनौती सिर्जना गर्न सक्छ, तर जीवनको वास्तविक दिशा मानिसको सोचले निर्धारण गर्छ। प्रत्येक कर्मको प्रारम्भ विचारबाट हुन्छ। विचारले संकल्प जन्माउँछ। संकल्पले कर्मलाई जन्म दिन्छ। कर्मले बानी बनाउँछ। बानीले चरित्र निर्माण गर्छ। अन्ततः चरित्रले नै व्यक्तिको भाग्य र जीवनको गन्तव्य तय गर्छ। यही कारणले जीवनको सम्पूर्ण विज्ञान विचारको एउटा सूक्ष्म बीउबाट आरम्भ हुन्छ।

    यही सत्यलाई श्रीमद्भगवद्गीताले अत्यन्त गहिरो रूपमा उद्घाटित गरेको छ। गीता कुनै धार्मिक अनुष्ठानको पुस्तक मात्र होइन। यो मानव मनोविज्ञान, नैतिकता, नेतृत्व, आत्मचेतना र कर्मदर्शनको कालजयी ग्रन्थ हो। गीता पढ्दा हामी आफ्नै मनभित्र चलिरहेको द्वन्द्वलाई चिनिरहेका हुन्छौँ। प्रत्येक मानिसको जीवनमा एउटा कुरुक्षेत्र हुन्छ, जहाँ मोह र विवेक, भय र साहस, स्वार्थ र कर्तव्यबीच निरन्तर संघर्ष चलिरहेको हुन्छ।

    गीताको मूल शिक्षा कर्मको महत्त्व हो। तर गीता केवल कर्म गर्न भन्दैन; त्यसले कर्मको स्रोत पनि देखाउँछ। कर्मको स्रोत विचार हो। अशान्त मनबाट शान्त कर्म जन्मिँदैन। दूषित सोचबाट पवित्र परिणाम प्राप्त हुँदैन। जसरी विषालु बीउबाट मीठो फल फल्दैन, त्यसरी नै नकारात्मक सोचबाट सुखद जीवन निर्माण हुन सक्दैन। त्यसैले गीता मनलाई जित्न सिकाउँछ, किनकि मन नै कर्मको पहिलो प्रयोगशाला हो।

    मानिसले संसारलाई जस्तो देख्छ, त्यो संसारभन्दा बढी उसको दृष्टिकोणको प्रतिबिम्ब हुन्छ। एउटै परिस्थिति कसैका लागि अवसर बन्छ भने कसैका लागि निराशाको कारण। अन्तर परिस्थितिमा होइन, सोचमा हुन्छ। गीता भन्छ—मन मित्र पनि बन्न सक्छ, शत्रु पनि। अनुशासित मनले उन्नतिको बाटो खोल्छ; अनियन्त्रित मनले पतनको ढोका खोल्छ। त्यसैले आत्मविजय नै सबैभन्दा ठूलो विजय हो।

    अर्जुनको संकट वास्तवमा अस्त्रको होइन, अस्तित्वको संकट थियो। हातमा धनुष थियो, तर मनमा निर्णय थिएन। शक्ति थियो, तर सोच भ्रमित थियो। भगवान् श्रीकृष्णले अर्जुनलाई नयाँ हतियार दिएनन्; नयाँ दृष्टि दिए। यही गीताको अद्वितीय विशेषता हो। यसले परिस्थितिलाई परिवर्तन गर्नुभन्दा पहिले चेतनालाई परिवर्तन गर्न सिकाउँछ। चेतना परिवर्तन भएपछि कर्म परिवर्तन हुन्छ, र कर्म परिवर्तन भएपछि जीवन आफैँ रूपान्तरित हुन थाल्छ।

    गीताले कर्मयोगको सिद्धान्त प्रस्तुत गर्दै फलप्रतिको अत्यधिक आसक्तिबाट मुक्त हुन प्रेरित गर्छ। यसको अर्थ फलको अवहेलना गर्नु होइन; फलको चिन्ताले वर्तमान कर्मलाई दूषित नबनाउनु हो। जब मानिस सम्पूर्ण एकाग्रता, निष्ठा र इमानदारीका साथ वर्तमान कर्ममा समर्पित हुन्छ, तब कर्म आफैँ उत्कृष्ट बन्छ। उत्कृष्ट कर्मबाट प्राप्त हुने फल पनि दीर्घकालीन र सार्थक हुन्छ। यही कर्मयोगको व्यावहारिक विज्ञान हो।

    विचार व्यक्तिगत जीवनलाई मात्र होइन, समाज र सभ्यतालाई पनि आकार दिन्छ। एउटा असल विचारले आन्दोलन जन्माउन सक्छ। एउटा सत्य विचारले इतिहास बदल्न सक्छ। एउटा करुणामय विचारले हिंसालाई मानवतामा रूपान्तरण गर्न सक्छ। त्यसैले सभ्यताको भविष्य हतियारभन्दा विचारमा, सम्पत्तिभन्दा चरित्रमा र शक्तिभन्दा चेतनामा निर्भर हुन्छ। गीता यही चेतनाको विकासको आह्वान हो।

    आधुनिक मनोविज्ञान र न्यूरोसाइन्सले पनि गीताको यो शिक्षा समर्थन गर्छन् कि हाम्रो सोचले हाम्रो मस्तिष्क र व्यवहारलाई असर गर्छ। नकारात्मक सोचले तनाव, चिन्ता र मानसिक रोग निम्त्याउँछ भने सकारात्मक सोचले स्वास्थ्य र जीवनको गुणस्तर सुधार गर्छ। यद्यपि, गीता यसलाई केवल वैज्ञानिक दृष्टिकोणबाट होइन, गहिरो आध्यात्मिक सन्दर्भमा पनि व्याख्या गर्छ।

    विश्लेषण गर्दा, गीता को सन्देश आजको युगका लागि अत्यन्त प्रासंगिक छ जहाँ मानिस मानसिक तनाव र जीवनशैली सम्बन्धी चुनौतीहरूमा जुझिरहेका छन्। “मनुष्य आफू जस्तो सोच्दछ, ऊ उस्तै बन्छ” भन्ने वाक्यांशले हामीलाई सोचको महत्त्वलाई बुझ्न र आफ्नो मानसिक अवस्थालाई सुधार्न प्रेरणा दिन्छ। तर यो पनि स्पष्ट छ कि केवल सकारात्मक सोच मात्र पर्याप्त छैन; नियमित अभ्यास, अनुशासन र आध्यात्मिक ज्ञान पनि आवश्यक छ ताकि मन शान्त, स्थिर र सशक्त बन्न सकोस्।

    सोच नै व्यवहारको आधार हो भन्ने कुरा श्रीमद्भगवत गीताको मूल शिक्षामध्ये एक हो। व्यक्ति जस्तो सोच्दछ, ऊ उस्तै बन्छ। शुभ विचारले मन, बुद्धि र आत्मालाई शुद्ध बनाउँछ र व्यवहारमा शान्ति, सद्भाव र सहनशीलता प्रकट हुन्छ। नकारात्मक सोचले मोह, राग, द्वेष र अहंकार जन्माउँछ, जसले व्यक्ति पथभ्रष्ट बनाउँछ। श्रीकृष्णले गीतामा भनेजस्तै, जो व्यक्ति शुद्ध चिन्तन, निष्काम कर्म र समर्पण भावले जीवन जिउँछ, उसले मोक्ष प्राप्त गर्न सक्छ। शुभ चिन्तन आत्मिक उन्नतिको आधार हो, जसले आत्मज्ञानको प्रकाश फैलाउँछ र जीवनलाई दिव्य र पवित्र बनाउँछ। त्यसैले शुभ सोच नै मुक्ति प्राप्तिको मार्ग हो।

    श्रीमद्भगवद्गीता हिन्दू दर्शनको मेरुदण्ड मानिन्छ, जसले मानव जीवनका सबै पक्षमा प्रभाव पार्दछ। यो केवल धार्मिक ग्रन्थ मात्र नभई एक जीवनशैली हो, जहाँ सदाचार, नैतिकता र सामाजिक जिम्मेवारीको समन्वय पाइन्छ। गीता जीवनका द्वन्द्व, दुःख–सुख, मोह–माया र कर्मका रहस्यहरू उजागर गरेर आत्मबोधको दिशामा अघि बढ्न प्रेरित गर्छ।

    गीतामा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, भक्तियोग र ज्ञानयोगका माध्यमबाट जीवनमा सन्तुलन र उत्तरदायित्वको महत्व सिकाउँछन्। उनले प्रत्येक व्यक्तिलाई आफ्नो कर्तव्य निष्ठापूर्वक गर्न, फलको आशा नगरी कर्ममा अडिग रहन आग्रह गरेका छन्। यही सन्देश आजको समाजका लागि अत्यन्त सान्दर्भिक छ जहाँ नैतिक मूल्यहरू क्षीण हुँदै गइरहेका छन्।

    गीता जात–पात, लोभ, घृणा र हिंसाबाट मुक्त समाजको परिकल्पना गर्छ। यसले आन्तरिक शुद्धि र सार्वभौमिक प्रेमको भावना जागृत गराउँछ। गीता अनुशासन, आत्मसंयम र आत्मविकासको शिक्षा दिन्छ, जसले व्यक्तिगत परिवर्तनमार्फत सामाजिक रूपान्तरण सम्भव बनाउँछ।

    श्रीमद्भगवत्गीता महाभारतको भिष्मपर्व अन्तर्गतको पवित्र ग्रन्थ हो, जुन लगभग ५००० वर्षअघि कुरुक्षेत्रको युद्धभूमिमा भगवान् श्रीकृष्णले अर्जुनलाई जीवन, धर्म र मोक्षको मार्गदर्शन स्वरूप दिएका थिए। यसमा १८ अध्याय र ७०० संस्कृत श्लोकहरू छन्। गीताले धर्म, कर्म, ज्ञान, भक्ति र योगको समन्वयद्वारा आत्मशुद्धि र मोक्षप्राप्तिको मार्ग देखाउँछ।Top of Form

    Bottom of Form

    गीताको ज्ञान अनुसार आत्मा अविनाशी छ, त्यसैले जन्म, मरण, वृद्धावस्था आदि आत्माका लागि केवल परिवर्तनहरू मात्र हुन्। जस्तो मानिसले पुरानो लुगा त्यागेर नयाँ लुगा लगाउँछ, आत्मा पनि एक शरीर त्यागेर अर्को ग्रहण गर्छ। यसकारण मृत्युबाट डराउनु आवश्यक छैन। सत्य ज्ञान प्राप्त गर्न कर्म, भक्ति र ध्यानको समन्वय गर्नुपर्छ। श्रीमद्भगवत गीता एक धार्मिक ग्रन्थ नभई एक जीवनदर्शन हो  जसले मानिसलाई असल जीवन जिउन, सदाचार अपनाउन, कर्तव्यमा निष्ठावान रहन, र आध्यात्मिक मुक्तिको मार्ग पहिल्याउन प्रेरित गर्दछ। यो ग्रन्थले मानव आत्मालाई चेतनाको उच्चतम स्तरमा पुर्याउने सूत्र दिएको छ। यही कारणले गीता युग–युगसम्म सबैका लागि मार्गदर्शक बनिरहनेछ।

    श्रीमद्भागवत गीताले मानव जातीलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ । किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर , वर्तमान चलिरहेको छ ,तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले के  हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आप्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आप्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ ।

    कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ।  कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा  अगाडि बढ्नु पर्दछ।  हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ ।  त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।

    आजको डिजिटल युगमा मानिससँग सूचना धेरै छन्, तर आत्मज्ञान कम छ। सम्पर्क धेरै छन्, तर सम्बन्ध कमजोर छन्। सुविधा धेरै छन्, तर मानसिक शान्ति दुर्लभ हुँदै गएको छ। यस्तो समयमा गीता झन् सान्दर्भिक देखिन्छ। यसले बाह्य उपलब्धिभन्दा आन्तरिक सन्तुलनलाई महत्त्व दिन्छ। प्रतिस्पर्धाभन्दा उत्कृष्टतालाई, लोभभन्दा कर्तव्यलाई र अहंकारभन्दा आत्मबोधलाई प्राथमिकता दिन सिकाउँछ।विचारको शुद्धीकरण बिना कर्मको शुद्धीकरण सम्भव हुँदैन। त्यसैले गीता बारम्बार मन, बुद्धि र आत्माको समन्वयमा जोड दिन्छ। जब विचार सत्यमा आधारित हुन्छ, कर्म धर्ममय बन्छ। जब कर्म धर्ममय हुन्छ, जीवन अर्थपूर्ण बन्छ। यही जीवनविज्ञानको शाश्वत सूत्र हो।

    प्रत्येक मानिस आफ्नो जीवनको किसान हो। उसको मन उर्वर खेत हो। विचार त्यसमा रोपिने बीउ हो। कर्म त्यसको खेती हो। चरित्र त्यसको बोट हो। र जीवनको सुख–दुःख, सफलता असफलता तथा शान्ति–अशान्ति त्यसैको फल हुन्। यदि हामी मीठो फल चाहन्छौँ भने बीउ पनि उत्तिकै स्वस्थ रोप्नुपर्छ। गीता यही अमर सत्यको उद्घोष हो—विचारलाई उज्यालो बनाऊ, कर्म आफैँ उज्यालो हुनेछ, कर्म उज्यालो भयो भने जीवन पनि प्रकाशमय हुनेछ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )