काठमाडौँ– सरकारले निजी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। आम नागरिकमाथि थप आर्थिक भार पर्न सक्ने निष्कर्षपछि सरकारले उक्त व्यवस्था हालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा ३ प्रतिशत समता शुल्क कार्यान्वयन गर्दा सेवाग्राहीले अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था देखिएकाले हालका लागि यो व्यवस्था लागू नगर्ने निर्णय गरिएको बताएका छन्।
प्रधानमन्त्रीका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल कार्यान्वयन नगर्ने सहमति भएको हो। उनले सरकारको प्राथमिकता जनतामाथि थप आर्थिक बोझ थप्नु नभई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले सरकारले जनताको विश्वास र अपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै सुशासन कायम गर्नुका साथै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति दिलाउनु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्।
सरकारको यो निर्णयसँगै निजी विद्यालय तथा स्वास्थ्य संस्थाबाट सेवा लिने सर्वसाधारणले तत्कालका लागि अतिरिक्त ३ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था टरेको छ। सरकारले आगामी दिनमा सरोकारवालासँग थप छलफल र आवश्यक अध्ययनपछि मात्रै यस विषयमा थप निर्णय लिने संकेत दिएको छ।
यस्तो छ प्रधानमन्त्रीको भनाइ:
