काठमाडौँ– कर प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले उपभोक्तालाई लक्षित गर्दै नयाँ प्रोत्साहन योजना ल्याएको छ। अब खरिदपछि सक्कली बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनालाई एक लाख रुपैयाँ तथा महिनामा दुई जनालाई १०–१० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्रदान गरिने भएको छ।
अर्थ मन्त्रालयका अनुसार यो योजनामा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्नेछन्। कम्तीमा १०० रुपैयाँभन्दा बढीको कारोबार गरी नगद वा अनलाइन माध्यमबाट भुक्तानी गरेर सक्कली बिल लिने ग्राहक स्वतः योजनामा समावेश हुनेछन्।
मन्त्रालयका अनुसार खरिदपछि प्राप्त हुने बिलमा उल्लेख भएको बिल नम्बर नै पुरस्कार छनोटको आधार बन्नेछ। त्यसैले उपभोक्ताले प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सक्कली बिल लिनुपर्नेछ।
सरकारको विश्वास छ कि यस योजनाले उपभोक्तामा बिल लिने बानीको विकास गर्नुका साथै व्यवसायीलाई पनि अनिवार्य रूपमा बिल जारी गर्न प्रेरित गर्नेछ। यसबाट कर छलि नियन्त्रण, कारोबारको अभिलेखीकरण तथा राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
हालका लागि यो योजना परीक्षणका रूपमा पाक्षिक रूपमा सञ्चालन गरिनेछ। प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन पुरस्कार विजेताको घोषणा गरिने अर्थ मन्त्रालयले जनाएको छ।
सरकारले यो योजनालाई करदातामैत्री अभियानका रूपमा अघि बढाउँदै कर प्रणालीमा आम नागरिकको सहभागिता बढाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र औपचारिक अर्थतन्त्रको दायरा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार योजनाको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी दिनमा यसको दायरा र स्वरूप थप विस्तार गर्न सकिनेछ।
![]()
![]()
![]()
![]()
![]()
![]()