काठमाडौँ– बुकायो साकाको ह्याट्रिक प्रेरित प्रदर्शनमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ। अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले इतिहासमै पहिलो पटक विश्वकपको कांस्य पदक जित्न सफल भयो।
इंग्ल्यान्डका लागि साकाले तीन गोल गर्दा डेक्लान राइस, एज्री कोन्सा र जुड बेलिङ्घमले एक–एक गोल गरे। फ्रान्सका कप्तान किलियन एमबाप्पेले दुई तथा ब्राडली बारकोला र उस्मान डेम्बेलेले एक–एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्साले हेडरमार्फत दोस्रो गोल थपे। ३७औँ मिनेटमा साकाले गोल गर्दै अग्रता ३–० पुर्याए भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को आरामदायी अवस्थामा पुर्याए।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्यो। एमबाप्पेले ४८औँ मिनेटमा गोल गर्दै सुरुआत गरे भने ५४औँ मिनेटमा बारकोलाले अर्को गोल थपे। ६७औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर ४–३ मा झारे। यही गोलसँगै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने।
फ्रान्सले बराबरीको प्रयास गरिरहेकै बेला ८७औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो। साकाले त्यसलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ५–३ को अग्रता दिलाए। इन्जुरी समयमा डेम्बेलेले फ्रान्सका लागि चौथो गोल फर्काए पनि त्यसलगत्तै बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।
यो जितसँगै इंग्ल्यान्डले विश्वकप इतिहासमा पहिलोपटक तेस्रो स्थान हात पार्यो। सन् १९६६ मा विश्वकप उपाधि जितेपछि यो इंग्ल्यान्डको विश्वकपमा सबैभन्दा उत्कृष्ट नतिजा पनि हो। यसअघि इंग्ल्यान्ड सन् १९९० र २०१८ मा चौथो स्थानमा सीमित भएको थियो।