काठमाडौँ– डेंगुको जोखिम बढ्ने मौसमलाई लक्षित गर्दै सरकारले स्थानीय तहलाई केन्द्रमा राखेर तीन महिने राष्ट्रिय सचेतना अभियान सुरु गरेको छ। साउनदेखि असोजसम्म सञ्चालन हुने अभियानमार्फत डेंगु फैलाउने लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गर्ने, जनचेतना अभिवृद्धि गर्ने तथा समुदायस्तरमा सरसफाइका कार्यक्रम सञ्चालन गरिने भएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई ‘डेंगु सचेतना तीन महिने अभियान’ प्रभावकारी रूपमा सञ्चालन गर्न परिपत्र जारी गर्दै आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार अभियानको मुख्य उद्देश्य डेंगु रोगको संक्रमण फैलिन नदिन स्थानीय सरकार, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संघसंस्था तथा नागरिकबीच समन्वय र सहकार्य बढाउँदै लामखुट्टेको प्रजनन नियन्त्रण गर्नु हो।
अभियानअन्तर्गत प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्र नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्। वडा कार्यालयको नेतृत्वमा स्वास्थ्य संस्था, विद्यालय, सामुदायिक संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरी डेंगु रोकथामका गतिविधि सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
सरकारले अभियानलाई व्यवहारिक बनाउन ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। यस कार्यक्रमअन्तर्गत हरेक शुक्रबार सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय तथा सामुदायिक क्षेत्र वरपर रहेका लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ।
त्यसैगरी स्थानीय तहलाई कम्तीमा सातामा एक दिन समुदायको प्रत्यक्ष सहभागितामा ‘लामखुट्टेको प्रजनन स्थल खोज तथा नष्ट अभियान’ सञ्चालन गर्न पनि आग्रह गरिएको छ। यस क्रममा घरआँगन, सार्वजनिक स्थल तथा पानी जम्न सक्ने स्थानहरूको निरीक्षण गरी लामखुट्टे हुर्किन सक्ने वातावरण हटाइनेछ।
मन्त्रालयले विशेषगरी अटो वर्कसप, ग्यारेज, कवाडी सामान संकलन केन्द्र, निर्माणाधीन भवन तथा अन्य पानी जम्ने सम्भावना भएका स्थानहरूको नियमित अनुगमन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। यस्ता स्थानमा पानी जम्न नदिने, उचित निकासको व्यवस्था गर्ने तथा आवश्यक सरसफाइ अभियान सञ्चालन गर्न जोड दिइएको छ।
सरकारले डेंगु नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, विभिन्न निकाय र समुदायको संयुक्त प्रयासबाट मात्र प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने भएकाले बहुनिकाय समन्वयलाई अभियानको प्रमुख आधार बनाएको जनाएको छ।
तीन महिनासम्म सञ्चालन हुने यस अभियानमार्फत समुदायस्तरमै सचेतना वृद्धि गर्दै डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने सरकारको लक्ष्य रहेको छ।