काठमाडौँ– महिला उद्यमीहरूले उठाएका व्यवसाय विस्तार, बजार पहुँच, वित्तीय सहुलियत र नीतिगत सहभागितासम्बन्धी मागप्रति प्रधानमन्त्री वालेन्द्र शाहले सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमशीलतालाई सशक्त बनाउन सरकार उत्पादनदेखि बजार व्यवस्थापनसम्म सहजीकरण गर्न तयार रहेको बताए। उनले महिला उद्यमीका उत्पादनलाई प्रमुख पर्यटकीय गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइने र उद्यम सञ्चालनका अवरोध हटाउन सरकार सक्रिय रहने जानकारी दिए।
छलफलमा महासंघले व्यवसायमैत्री वातावरण, व्यापार मेला तथा बीटुबी कार्यक्रममार्फत बजार विस्तार, निर्यात प्रवर्द्धन, सार्वजनिक खरिदमा प्राथमिकता, वित्तीय पहुँच र धितोका वैकल्पिक व्यवस्थालगायतका विषय उठाएको थियो। साथै, ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको सहयोग आवश्यक रहेको धारणा पनि राखिएको थियो।
यसप्रति प्रधानमन्त्री शाहले ब्रान्डलाई शीघ्र बजारमा ल्याउने पहल गर्न आग्रह गर्दै सरकारबाट आवश्यक सहकार्य हुने विश्वास दिलाए। महिला उद्यमी महासंघलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने, स्थानीय तहमा सीप विकास कार्यक्रम सञ्चालन गर्ने र महिला उद्यमीको आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित भएको थियो।
बैठकको अन्त्यमा महासंघका प्रतिनिधिहरूले आफ्ना मागलाई प्राथमिकताका साथ सुनेर तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेका थिए।