२ खर्ब २४ अर्ब रुपैयाँ उठ्यो, गत वर्षभन्दा ८४ अर्ब बढी: अन्तिम दिन संकलन बढ्ने अपेक्षा - Chaitanya News
  • 2026-07-16
  • 11:15:04
  • बिहिबार,आषाढ ३२, २०८३
  • २ खर्ब २४ अर्ब रुपैयाँ उठ्यो, गत वर्षभन्दा ८४ अर्ब बढी: अन्तिम दिन संकलन बढ्ने अपेक्षा

    २ खर्ब २४ अर्ब रुपैयाँ उठ्यो, गत वर्षभन्दा ८४ अर्ब बढी: अन्तिम दिन संकलन बढ्ने अपेक्षा

    काठमाडौँ– चालु आर्थिक वर्ष २०८२–८३ समाप्त हुन एक दिन मात्रै बाँकी रहँदा सरकारले वार्षिक राजस्व लक्ष्य पूरा गर्न नसक्ने लगभग निश्चित देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गतेसम्म सरकारले लक्ष्यको ८२.७६ प्रतिशत अर्थात् १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

    सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर आर्थिक वर्षको अन्तिम दिनअघि नै लक्ष्यभन्दा करिब २ खर्ब ५५ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको तथ्यांकले देखाएको छ।

    यद्यपि गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गत वर्ष असार ३१ गतेसम्म ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ राजस्व उठेकोमा यसपालि ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ अर्थात् ७.४० प्रतिशतले वृद्धि भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

    संकलित राजस्वमध्ये ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व रहेको छ, जुन कर राजस्व लक्ष्यको ८३.४३ प्रतिशत हो। त्यस्तै गैरकर राजस्व १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ पुगेको छ, जुन लक्ष्यको ७६.९९ प्रतिशत हो। गत वर्षको तुलनामा कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले बढेको छ।

    वैदेशिक अनुदान प्राप्तिमा भने उल्लेखनीय सुधार देखिएको छ। सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकामा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ५८.५० प्रतिशत प्राप्त भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३४.७५ प्रतिशतले बढी हो।

    आर्थिक वर्षको अन्त्यतिर राजस्व संकलन बढ्ने परम्पराअनुसार असार ३१ गते मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व उठाएको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजस्व रहेको छ।

    महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्षको अन्तिम दिन थप राजस्व संकलन हुने भएकाले कुल संकलनको दर केही बढ्ने अपेक्षा गरेको छ।