काठमाडौँ– नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति सहज बन्दै गएपछि बुधवारदेखि पुनः भरी सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ। अब उपभोक्ताले १४.२ केजीको भरी ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएपछि नियमित आपूर्ति सुनिश्चित भएकाले पुरानै व्यवस्था लागू गरिएको हो।
यसअघि आपूर्तिमा देखिएको असहज अवस्थालाई व्यवस्थापन गर्न निगमले प्रति सिलिन्डर ७.१ केजी ग्यास भरेर आधा सिलिन्डर मात्रै बिक्री गर्ने अस्थायी व्यवस्था गरेको थियो। आपूर्ति सुधार भएसँगै उक्त व्यवस्था हटाइएको निगमले जनाएको छ।
निगमका अनुसार हाल नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले बजारमा पर्याप्त आपूर्ति हुने अपेक्षा गरिएको छ। साथै, उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि आग्रह गरिएको छ।
![]()