देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ: सुदूरपश्चिम अगाडि, कोशी र मधेस अझै पछि - Chaitanya News
  • 2026-07-15
  • 10:14:23
  • बुधबार,आषाढ ३१, २०८३
  • देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ: सुदूरपश्चिम अगाडि, कोशी र मधेस अझै पछि

    देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ: सुदूरपश्चिम अगाडि, कोशी र मधेस अझै पछि

    काठमाडौँ– देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि विभागका अनुसार हालसम्म करिब ५० प्रतिशत अर्थात् ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ।

    विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो। तर यस वर्ष मनसुनको प्रभाव र विभिन्न स्थानीय अवस्थाका कारण रोपाइँको गति केही ढिलो भएको देखिएको छ।

    प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको छ। तर धान उत्पादनका मुख्य क्षेत्र मानिने कोशीमा ३२ प्रतिशत र मधेसमा ३२.७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएकाले समग्र राष्ट्रिय प्रगति प्रभावित भएको विभागले जनाएको छ।

    विभागका अनुसार अहिले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले आगामी एक साताभित्र रोपाइँको गति उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र रूपमा अघि बढ्ने विश्वास विभागको छ।