मन्त्रालय भागबन्डा : एमालेले ९ पाउँदा माओवादीको भागमा ६, रास्वपा ४ र राप्रपा ३ मा राजी - Chaitanya News
  • 2026-05-10
  • 18:55:09
  • आइतबार,बैशाख २७, २०८३
  • मन्त्रालय भागबन्डा : एमालेले ९ पाउँदा माओवादीको भागमा ६, रास्वपा ४ र राप्रपा ३ मा राजी

    मन्त्रालय भागबन्डा : एमालेले ९ पाउँदा माओवादीको भागमा ६, रास्वपा ४ र राप्रपा ३ मा राजी

    काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार साँझ प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे । ओली निवास बालकोटमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।

    नेताहरूका अनुसार आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । प्रचण्ड र ओलीबीच मन्त्रालय भागबन्डामा करिब करिब सहमति जुटेको बताइन्छ । सत्ता साझेदार दलहरूमध्ये ७९ सिट बोकेको सबैभन्दा ठूलो दल नेकपा एमालेले १० वटा मन्त्रालय राख्न चाहेको छ । तर सात दलबीच बाँडफाँट गर्दा ९ वटामा चित्त बुझाउन प्रचण्डको प्रस्ताव छ ।

    एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित हाल चार जना मन्त्री सरकारमा छन् । मन्त्रालय बाँडफाँट नभएकाले ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी अहिले बिना विभागीय छन् । उनीहरूबाहेक अब एमालेबाट बढीमा ५ जना मन्त्री थपिनेछन् ।

    नेताहरूका अनुसार माओवादीबाट प्रधानमन्त्रीसहित बढीमा ६ जना हुनेछन् । अहिले प्रधानमन्त्री प्रचण्डकाे मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ छन् । अब माओवादीबाट बढीमा ४ जना मन्त्री थपिनेछन् ।

    रास्वपाले ४ वटा मन्त्री पाउनेछ । अहिले रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहको जिम्मेवारीमा छन् । अब एक राज्यमन्त्रीसहित ३ जनाले रास्वपाबाट सरकारमा मौका पाउनेछन् । राप्रपाले ३ वटा मन्त्रालय पाउने भएको छ ।

    जसपालाई २ वटा मन्त्रालय दिने तयारी छ । ६ सिट रहेको जनमत पार्टीले एउटा मन्त्री पाइसकेको छ । उसले थप एक मन्त्रालय मागेको छ ।