ऊर्जा विकासका नीतिगत अवरोध हटाउन सरकार तयार, निजी क्षेत्रसँग सहकार्य बढाइने - Chaitanya News
  • 2026-07-10
  • 16:32:17
  • शुक्रबार,आषाढ २६, २०८३
  • ऊर्जा विकासका नीतिगत अवरोध हटाउन सरकार तयार, निजी क्षेत्रसँग सहकार्य बढाइने

    ऊर्जा विकासका नीतिगत अवरोध हटाउन सरकार तयार, निजी क्षेत्रसँग सहकार्य बढाइने

    काठमाडौँ– सरकारले ऊर्जा क्षेत्रको विकासमा देखिएका नीतिगत तथा प्रक्रियागत अवरोध हटाउँदै निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

    सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलविद्युत् उत्पादन, ऊर्जा क्षेत्रमा लगानी विस्तार तथा विद्युत् निर्यातको सम्भावना बढाउन आवश्यक नीतिगत सुधारमा सरकार सकारात्मक रहेको बताए।

    प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरण, औद्योगिक विकास, रोजगारी सिर्जना र हरित अर्थतन्त्र निर्माणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरेर लगानीकर्ताले भोगिरहेका समस्याको समाधानमा पहल गरिने बताए।

    भेटमा इपानले विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया सहज बनाउने, रोकिएका आयोजना अघि बढाउने, प्रसारण लाइन तथा ग्रिड पहुँच विस्तार, वन तथा वातावरणसम्बन्धी स्वीकृति प्रक्रिया, जग्गा प्राप्ति, अनुमति नवीकरण र लगानी सुरक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो।

    प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी यी विषयमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा निजी क्षेत्रको लगानी विस्तार, ऊर्जा व्यापारमा निजी क्षेत्रको सहभागिता तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।

    बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नवीन भण्डारी तथा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की र महासचिव टीएन आचार्यलगायत सहभागी थिए।