दादुराका बिरामी बढ्दै - Chaitanya News
  • 2026-05-02
  • 12:31:14
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दादुरा संक्रमितको संख्या एक सय १० पुगिसकेको छ। नेपालगन्जमा एक सय ८ जना र खजुरामा दुई जना गरी दादुरा संक्रमितको संख्या एक सय १० पुगेको हो।

    जसअनुसार नेपालगन्जमा दादुरा संक्रमितको संख्या बढ्दो क्रममा रहेको। स्वास्थ्यकर्मीहरूका अनुसार दैनिक १५ जनाभन्दा बढी संक्रमित भेटिएका छन्।

    यहाँका १० वटा वडामा संक्रमित फेला परेका हुन्। उपमहानगरको १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा दादुराका संक्रमित देखिएका हुन्।

    सबैभन्दा धेरै वडा नं. ८ मा २९ जना संक्रमित फेला परेका छन्। वडा नं. ७ मा २८, वडा नं. ११ मा २१, वडा नं. ५ मा १५ जना संक्रमित भेटिएका हुन्। बाँकेको खजुरामा दुई जना संक्रमित भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने बालकको पुस १३ मा मृत्यु भएको थियो ।

    भेरी अस्पतालमा उपचार भइरहेका बिरामीसँग अस्पतालले शुल्क लिएको विषयमा भने स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन्।

    नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगन्जमा संक्रमितलाई भेरी अस्पतालले निस्शुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएर काम गर्न अप्ठेरो पारेको बताए।

    नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएपछि चार दिनदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

    पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयले पनि नेपालगन्जमा देखिएको दादुराप्रति चासो दिएर स्वास्थ्य सेवा विभागको टोली नेपालगन्ज पठाएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।