काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्। तर वर्षाको क्षेत्र र मात्रा भने फरक–फरक हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ। कतिपय स्थानमा मोडेलले देखाएको भन्दा बढी र कतिपय स्थानमा कम वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
मौसमविदले पोखरेलले फेसबुकमा लेखेका छन्, ‘केही ठाउँमा मोडेलले देखाएको भन्दा धेरै र केही ठाउँमा थोरै पनि वर्षा हुन्छ। त्यसैले सजग हुनुहोला।’
यस अवधिमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम र नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद्हरूको भनाइ छ।
पहाडी क्षेत्रको तुलनामा तराईमा कम वर्षा
यसैबीच, पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान मोडेलहरूले वर्षाको सम्भावना देखाए पनि तराईका धेरै स्थानमा उल्लेख्य वर्षा हुन सकेको छैन।
मौसमविद् विनोद पोखरेलका अनुसार यसको मुख्य कारण वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रणाली कमजोर हुनु हो। पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा भइरहेको छ उनको भनाइ छ। तर समथर तराई क्षेत्रमा बादल बनेर पनि पर्याप्त वर्षा हुन सकेको छैन।