काठमाडौँ– उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्या, लगानीको वातावरण र आर्थिक सुधारका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा निजी क्षेत्रले उद्योग सञ्चालनमा रहेका नीतिगत तथा प्रक्रियागत जटिलता हटाउन, लगानी सुरक्षाको सुनिश्चितता गर्न, नीतिगत स्थायित्व कायम गर्न र सरकारसँग नियमित संवादको संयन्त्र विकास गर्न आग्रह गरेको थियो।
जवाफमा प्रधानमन्त्री शाहले निजी क्षेत्र आर्थिक विकासको प्रमुख साझेदार भएको उल्लेख गर्दै उद्योगी–व्यवसायीले उठाएका नीतिगत, कानुनी र प्रशासनिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए। उनले उद्योग तथा लगानीमैत्री वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको र आवश्यक सुधारका काम अघि बढाइने प्रतिबद्धता जनाए।
प्रधानमन्त्रीका अनुसार निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्दै उत्पादन र रोजगारी विस्तारमा केन्द्रित अर्थतन्त्र निर्माण गर्न सरकार र व्यवसायीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ। निजी क्षेत्रबाट प्राप्त सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने पनि उनले बताए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष कमलेशकुमार अग्रवालसहित निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
छलफलले सरकार र निजी क्षेत्रबीच नियमित संवादलाई संस्थागत गर्दै लगानी, उद्योग प्रवर्द्धन र आर्थिक सुधारलाई अघि बढाउने साझा प्रतिबद्धतालाई थप बल दिएको अपेक्षा गरिएको छ।