काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्रका गुठी जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरसहित प्रमुख मठ(मन्दिर तथा गुठी सम्पत्तिको संरक्षण र व्यवस्थित व्यवस्थापनका लागि समिति गठन गरिएको हो।
समितिले यसअघि तयार भएका विभिन्न अध्ययन तथा प्रतिवेदनमा उल्लेख गरिएका सुझाव र कार्ययोजनाको कार्यान्वयनमा सहजीकरण गर्नेछ।
विशेष गरी उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२, सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग २०७६ लगायत अन्य प्रतिवेदनमा औँल्याइएका विषयलाई कार्यान्वयनको दायरामा ल्याउने जिम्मेवारी समितिलाई दिइएको छ।
सरकारले समिति गठनमार्फत बृहत्तर जनकपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएका गुठी जग्गाको संरक्षण, व्यवस्थापन र उपयोग प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
विगतमा विभिन्न कार्यदल तथा आयोगले दिएका सुझावहरूको पुनरावलोकन गरी आवश्यक कदम अघि बढाउने तथा गुठी सम्पत्तिमाथिको अनधिकृत प्रयोग र अतिक्रमण नियन्त्रणमा समेत समितिले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।