काठमाडौँ– आज (बुधबार) ३ः३० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो।
आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना उच्च रहेको छ। हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबार (पर्सि) देखि अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी गरेको हो।
नयाँ मुख्यसचिव को हुने भन्नेबारे सरकारले कुनै संकेत गरेको छैन। बालेन सरकार गठन भएपछि भएका नियुक्तिहरूको अभ्यास हेर्दा मुख्यसचिव कसरी नियुक्त हुन्छन् भन्नेबारे ठम्याउन कठिन रहेको प्रशासनिक वृत्तको भनाइ छ। नियुक्ति ज्येष्ठताका आधारमा हुन्छ वा अन्य सचिवमध्येबाट गरिन्छ भन्ने विषयमा अहिलेसम्म स्पष्ट संकेत नदेखिएको अधिकारीहरू बताउँछन्।