मौद्रिक नीति समीक्षा: बाह्य सूचक उत्साहजनक, आन्तरिक कर्जा विस्तार कमजोर - Chaitanya News
  • 2026-07-07
  • 14:34:06
  • मंगलबार,आषाढ २३, २०८३
  • मौद्रिक नीति समीक्षा: बाह्य सूचक उत्साहजनक, आन्तरिक कर्जा विस्तार कमजोर

    मौद्रिक नीति समीक्षा: बाह्य सूचक उत्साहजनक, आन्तरिक कर्जा विस्तार कमजोर

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै बाह्य क्षेत्र मजबुत रहे पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाभन्दा कम रहेको जनाएको छ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षका लागि करिब ५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखिएकोमा पहिलो १० महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ। वार्षिक बिन्दुगत आधारमा भने २०८३ वैशाखमा मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनले विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा सुदृढ रहेको देखाएको छ। मौद्रिक नीतिमा कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति कायम गर्ने लक्ष्य राखिए पनि हालको सञ्चितिले पहिलो १० महिनाको आयातका आधारमा २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

    यद्यपि, आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यअनुसार निजी क्षेत्रमा कर्जा प्रवाह भने अपेक्षित गतिमा बढ्न नसकेको प्रतिवेदनले औंल्याएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयन समग्रमा लक्ष्यअनुकूल रहेको जनाउँदै आगामी अवधिमा आर्थिक गतिविधि थप चलायमान बनाउने दिशामा नीतिगत समन्वय आवश्यक रहने संकेत गरेको छ।