काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको बताएका छन्।
आज (शुक्रबार) सिंहदरबारमा सञ्चारकर्मीसँग सरकारको एक सय दिनको समीक्षा गर्दै रविले सुरुवाती चरण सफल भएको जिकिर गरेका हुन्।
‘सरकारले नागरिकसँग सम्बन्धित विषयमा जोड लगायो। सय दिनमा सरकारले सुशासनमा अझै बढी समय लगाएको छ। सुशासनको मुद्दामा सरकारको बढी ध्यान गएको छ। तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारको क्षेत्रमा हामीले तीन वर्षको प्याकेज बनाएर काम गरेका छौँ। जसको नतिजा तीन वर्ष अगाडि अपेक्षा गर्न अलि गाह्रो हुनसक्छ’, उनले भने, ‘यद्यपि तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको छ। सुशासन अहिलेको सरकारको प्राथमिकता भएको र नागरिकलाई सेवा दिने विषयमा तीनलाई डिजिटल, होम डेलिभरी, कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। राम्रो विगिनिङ भएको मलाई लाग्छ। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ।’
सय दिनमा केही कमीकमजोरी भएमा सञ्चार माध्यम, नागरिक समाज, बुद्धिजीवीबाट आएको सुझावलाई समेटेर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। आगामी दिनमा सरकार अझै परिपक्व ढङ्गले अगाडि बढ्ने बताए।