१४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद खाली - Chaitanya News
  • 2026-07-03
  • 17:46:06
  • शुक्रबार,आषाढ १९, २०८३
  • १४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद खाली

    १४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद खाली

    काठमाडौँ– सरकारले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ।

    आज (शुक्रवार) बस्ने संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । सोहीअनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे पनि छलफल हुन लागेको हो।

    निर्वाचन आयोग १४ महिनादेखि प्रमुख निर्वाचन आयुक्तविहीन हुँदै आएको छ। अब भने सरकारले प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्त पनि नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको बुझिएको छ।

    यसअघिका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ बर्से कार्यकाल पूरा गरी गत वर्ष (२०८२ साल वैशाख ५) अवकाश पाएसँगै आयोग कार्यवाहक आयुक्तको भरमा चलेको थियो।

    थपलियाको अवकाशपछि वरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहकको जिम्मेवारी पाएका थिए। थपलिया भन्दा अघि आयुक्त ईश्वर पौड्यालले २०७९ फागुनमा अवकाश पाएका थिए।

    उनको ठाउँमा पनि अर्का आयुक्त नियुक्त गरिएको छैन। रामप्रसाद भण्डारीले कार्यवाहककै हैसियतमा गत फागुन २१ गतेको निर्वाचन सफल ढंगले सम्पन्न गरेका थिए।

    संविधान अनुसार निर्वाचन आयोगमा प्रमुखसहित बढीमा ५ जना आयुक्त रहने व्यवस्था छ। हाल आयोगमा कार्यबहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू जानकी तुलाधर र सगुन शम्शेर राणामात्र रहेका छन्।

    उसो त नेपालमा ३ जना आयुक्त भएपनि चल्न सक्ने बहस समेत बेला बेलामा हुने गरेको छ। तर विगतका सरकारले कोटा पुर्‍याउन पाँच जना आयुक्तहरू नियुक्ति गर्ने गरेका थिए। छिमेकी मुलुक भारतमा समेत ३ जना आयुक्तबाटै निर्वाचन गराइँदै आएको छ।