काँग्रेसभित्र देखिएका असहमति र विवादलाई समाधान गर्नुपर्ने धारणा राख्दै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश - Chaitanya News
  • 2026-07-03
  • 15:43:48
  • शुक्रबार,आषाढ १९, २०८३
  • काँग्रेसभित्र देखिएका असहमति र विवादलाई समाधान गर्नुपर्ने धारणा राख्दै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश

    काँग्रेसभित्र देखिएका असहमति र विवादलाई समाधान गर्नुपर्ने धारणा राख्दै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश

    काठमाडौँ– नेपाली काँग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि पार्टीभित्र सुदृढ एकता अपरिहार्य रहेको बताएका छन्। उनले आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

    आज (शुक्रबार) बानेश्वरमा काँग्रेसका भ्रातृ संस्थाका नेताहरूसँग भएको छलफलमा महरले पार्टीभित्र देखिएका असहमति र विवादलाई आपसी विश्वासको वातावरण निर्माण गरेर समाधान गर्नुपर्ने धारणा राखे।

    उनले नेपाली काँग्रेस विगतमा विभाजित हुँदा त्यसको प्रभाव केवल संगठनमा मात्र सीमित नरही समग्र लोकतान्त्रिक प्रणालीमा समेत परेको उल्लेख गरे। इतिहासमा काँग्रेसको विभाजनपछि निरङ्कुश प्रवृत्तिले बलियो हुने अवस्था सिर्जना भएको स्मरण गराउँदै उनले त्यसबाट पाठ सिकेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए।

    महरले वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसले जिम्मेवार, सशक्त र संगठित रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए। उनका अनुसार व्यक्तिगत महत्वाकांक्षा वा गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य(मान्यता र जनताको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ।

    उनले पार्टीका नेता तथा कार्यकर्तालाई सबै प्रकारका मतभेद संवाद, सहमति र आपसी समझदारीबाट टुंग्याउँदै संगठनात्मक एकतालाई थप मजबुत बनाउन आग्रह गरे।