काठमाडौँ– प्रतिनिधि सभाले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले प्रस्तावलाई बहुमतले स्वीकृत गर्दै विधेयक पारित गरेको हो।
विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल भएको थियो। त्यसपछि संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणको कार्यलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले त्यसका लागि सम्बन्धित निकायको क्षमता र कानुनी व्यवस्था थप सुदृढ बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।
मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका मुद्दामा मात्र सीमित नभई समग्र आर्थिक अपराधको अनुसन्धान र नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसरह अधिकार सम्पन्न ‘आर्थिक अपराध प्राधिकरण’ गठन गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।
एउटै स्रोतबाट उत्पन्न आर्थिक अपराधका विषयमा विभिन्न निकायले छुट्टाछुट्टै अनुसन्धान गर्दा राज्यको खर्च बढ्ने, न्यायिक प्रणालीमा अनावश्यक बोझ पर्ने तथा बिगो असुली प्रक्रिया जटिल बन्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यसलाई सम्बोधन गर्न कानुनी सुधार आवश्यक रहेको बताए।