सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह - Chaitanya News
  • 2026-07-02
  • 16:13:36
  • बिहिबार,आषाढ १८, २०८३
  • सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह

    सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह

    काठमाडौँ– राष्ट्रिय सभाका सदस्यहरूले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्व तयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    राष्ट्रिय सभाको आजको बैठकमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए।

    काँग्रेसकै पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले अकालमै ज्यान गुमाएका उल्लेख गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिए।

    सोही पार्टीकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भई युक्रेन युद्धमा १८७ नेपाली नागरिकको मृत्यु तथा ९६ जना बेपत्ता भएको भन्ने खबरप्रति गम्भीर बन्न र कूटनीतिक पहलमार्फत सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

    काँग्रेसकै विष्णुदेवी पुडासैनीले सुकुम्वासी नागरिकको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्। नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का विष्णुबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्न सुझाव दिए।

    सोही पार्टीका श्रीकृष्णप्रसाद अधिकारीले नुवाकोटको सूर्य गढी गाउँपालिका–१ लच्याङको बुलबुले, काउले र सेम्राङमा जमिन भासिएर ३० परिवार विस्थापित तथा सयौँ घर पहिरोको जोखिममा रहेको जानकारी गराउँदै तत्काल प्रभावितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

    सोही पार्टीकी सावित्री मल्लले नवलपरासीको सुस्ता क्षेत्रका नागरिक भूमि रक्षा र नागरिकता प्राप्तिको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेको उल्लेख गर्दै सीमासम्बन्धी समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्।