रास्वपाको नयाँ शक्ति सन्तुलनः ९९ निर्वाचित केन्द्रीय सदस्यमा कसको कति प्रभाव? - Chaitanya News
  • 2026-08-17
  • 00:49:08
  • आइतबार,साउन ३१, २०८३
  • रास्वपाको नयाँ शक्ति सन्तुलनः ९९ निर्वाचित केन्द्रीय सदस्यमा कसको कति प्रभाव?

    रास्वपाको नयाँ शक्ति सन्तुलनः ९९ निर्वाचित केन्द्रीय सदस्यमा कसको कति प्रभाव?

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिले पार्टीभित्रको नयाँ शक्ति सन्तुलन स्पष्ट पारेको छ। सभापति रवि लामिछाने नेतृत्वको समूह सबैभन्दा बलियो देखिएको छ भने बालेन शाह निकट समूह दोस्रो ठूलो शक्तिका रूपमा स्थापित भएको छ।

    बुधबार पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै महाधिवेशनको औपचारिक प्रक्रिया पनि टुंगिएको छ।

    निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये रवि समूहका ३४ जना छन्। बालेन समूहबाट २५ जना निर्वाचित भएका छन् भने विवेकशील साझा समूहबाट तीन जनाले मात्रै स्थान बनाउन सके। बाँकी ३७ जना विभिन्न पृष्ठभूमिका नेताहरू निर्वाचित भएका छन्।

    महाधिवेशनअघि रास्वपाले बालेन समूह, विवेकशील साझा, जेनजी, थारुहट–थारुवान तथा दलित समूहलाई पार्टीमा समायोजन गरेको थियो। त्यसको प्रभाव महाधिवेशनको परिणाममा पनि देखिएको छ। विशेषगरी बालेन समूहले उल्लेख्य उपस्थिति जनाउँदै पार्टीभित्र आफूलाई प्रभावशाली शक्तिका रूपमा स्थापित गरेको छ।

    महाधिवेशनमा साविक केन्द्रीय समितिका केही नेताले फरक धारबाट प्रतिस्पर्धा गरेका थिए। बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका छन् भने गणेश कार्की र निशा डाँगीलगायत नेताहरू पनि फरक समूहबाट निर्वाचित भएका छन्।

    रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये सभापतिसहित ९९ जना निर्वाचित हुन्छन् भने ५१ जना सभापतिबाट मनोनीत गरिने व्यवस्था छ। सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहने प्रावधान पनि छ। यसैगरी १९ सदस्यीय पदाधिकारी टोलीका बाँकी पदहरू पनि सभापतिले मनोनयनमार्फत पूरा गर्नेछन्।

    अब सभापति रवि लामिछानेले गर्ने मनोनयनले पार्टीभित्रको अन्तिम शक्ति सन्तुलन कस्तो बन्छ भन्ने विषयलाई रास्वपा वृत्तमा चासोका साथ हेरिएको छ।