बोस्नियाविरुद्ध अमेरिकाको चुनौती, अन्तिम १६ मा पुग्ने दाउ - Chaitanya News
  • 2026-07-01
  • 18:12:32
  • बुधबार,आषाढ १७, २०८३
  • बोस्नियाविरुद्ध अमेरिकाको चुनौती, अन्तिम १६ मा पुग्ने दाउ

    बोस्नियाविरुद्ध अमेरिकाको चुनौती, अन्तिम १६ मा पुग्ने दाउ

    काठमाडौं– फिफा विश्वकप २०२६ का सहआयोजक राष्ट्रहरूको प्रदर्शन अहिलेसम्म प्रभावशाली देखिएको छ। आयोजक तीन राष्ट्रमध्ये क्यानडा र मेक्सिको राउण्ड अफ ३२ जित्दै अन्तिम १६ मा पुगिसकेका छन्। अब अमेरिकाको लक्ष्य पनि उनीहरूकै पाइला पछ्याउँदै अन्तिम १६ मा स्थान बनाउने हुनेछ।

    अमेरिकाले राउण्ड अफ ३२ मा बोस्निया एण्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानको फाइदा उठाउँदै समूह चरण सहज रूपमा पार गरेको अमेरिकासामु पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको बोस्नियाले चुनौती प्रस्तुत गर्नेछ।

    समूह चरणमा अमेरिका प्रभावशाली:

    फिफा वरियताको १७औँ स्थानमा रहेको अमेरिकाले समूह डीको विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको अमेरिकाले पहिलो खेलमा फोलारिन बालोगुनको दुई गोलको मद्दतमा पाराग्वेलाई ४–१ ले हराएको थियो। त्यसपछि अस्ट्रेलियालाई २–० ले पराजित गर्दै एक खेलअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो।

    समूहको अन्तिम खेलमा मुख्य खेलाडीलाई आराम दिँदै बेन्चका खेलाडी उतारेको अमेरिका टर्किएसँग ३–२ ले पराजित भए पनि टोलीलाई नकआउट चरणका लागि तयार पार्न सफल भयो।

    ऐतिहासिक उपलब्धिमा बोस्निया:

    फिफा वरियताको ६४औँ स्थानमा रहेको बोस्निया एण्ड हर्जगोभिनाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो। समूह बीमा क्यानडासँग समान ४ अंक जोडे पनि गोलअन्तरमा पछि पर्दै तेस्रो भएको बोस्निया उत्कृष्ट तेस्रो हुने टोलीमध्ये पर्दै अन्तिम ३२ मा पुगेको हो।

    बोस्नियाले पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा स्विट्जरल्यान्डसँग ४–१ ले हार बेहोरेको थियो। अन्तिम खेलमा कतारलाई ३–१ ले पराजित गर्दै ४ अंक जोडेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।

    हेड टु हेड:

    विश्वकपमा अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच यो पहिलो भेट हुनेछ। समग्रमा भने दुई टोलीबीच चौथो प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका तीन भेटमा अमेरिका अपराजित छ। अमेरिकाले दुई खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो।

    हेर्नलायक खेलाडी:

    अमेरिकाका फरवार्ड फोलारिन बालोगुन उत्कृष्ट लयमा छन्। पाराग्वेविरुद्ध दुई गोल गरेका उनले नकआउट चरणमा पनि टोलीको मुख्य आशा रहनेछन्। कप्तान क्रिस्टियन पुलिसिकले पनि विश्रामपछि पहिलो रोजाइमा फर्कने सम्भावना छ।

    बोस्नियाका अनुभवी कप्तान तथा सर्वाधिक गोलकर्ता एडिन जेको टोलीका प्रमुख खेलाडी हुन्। साथै, डिफेन्डर सेआद कोलासिनाचको अनुभव अमेरिकी आक्रमण रोक्न महत्वपूर्ण हुन सक्छ।