काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट कानुनले तोकेको समयसीमाभित्र स्थानीय सभामा बजेट पेश नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सम्बन्धित गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै बजेट तर्जुमा प्रक्रियाको वर्तमान अवस्था, बजेट पेशमा भएको ढिलाइका कारण तथा आवश्यक विवरण पत्र प्राप्त भएको मितिले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
मन्त्रालयका अनुसार विद्युतीय पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले तोकिएको समयसीमाभित्र बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग्ने निर्णय गरिएको हो।
मन्त्रालयले बजेट निर्माण प्रक्रिया हाल कुन चरणमा पुगेको छ, समयमै सभामा बजेट पेश गर्न नसकिनुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए त्यसबारे स्पष्ट जानकारी उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएको छ।
त्यस्तै, असार मसान्तभित्र बजेट पारित गर्ने उद्देश्यअनुसार स्थानीय सभाको आगामी कार्यतालिका पनि मन्त्रालयमा पठाउन अनुरोध गरिएको छ।
मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण तथा अनुमोदन प्रक्रिया कानुनी समयसीमाभित्र सम्पन्न गराई प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो पहल गरिएको जनाएको छ।