काठमाडौं– देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि ३–३ जनाको नाम टुंगिएको छ। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले उम्मेदवारहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका आधारमा प्रत्येक विश्वविद्यालयका लागि तीन–तीन जनाको नाम छनोट गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले आठ विश्वविद्यालयका उपकुलपतिका लागि ३–३ जनाको नाम टुंगिएको जानकारी दिए।
मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का उपकुलपतिका लागि ३–३ जनाको नाम सिफारिसका लागि टुंगो लगाइएको हो।
प्रचलित व्यवस्थाअनुसार छनोट समितिले सिफारिस गरेका नाम कुलपतिसमक्ष पठाइनेछ। त्यसपछि कुलपतिले प्रत्येक विश्वविद्यालयका लागि एक–एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्। मन्त्रालय स्रोतका अनुसार आवश्यक प्रक्रिया छिट्टै पूरा गरी नियुक्तिको निर्णय गर्ने तयारी भइरहेको छ।
उपकुलपति छनोट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणपछि अन्तिम सिफारिस सूची तयार पारिएको हो।