राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञ सदस्य मनोनीत - Chaitanya News
  • 2026-06-30
  • 12:31:16
  • मंगलबार,आषाढ १६, २०८३
  • राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञ सदस्य मनोनीत

    राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञ सदस्य मनोनीत

    काठमाडौँ– सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सञ्चालक समितिमा तीन जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संरक्षण विज्ञ तथा व्यक्तित्वलाई सदस्यमा मनोनीत गरेको छ। कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोष ऐनअनुसार उनीहरूलाई मनोनयन गरेकी हुन्।

    मनोनीत हुनेहरूमा बेलायतको हाउस अफ लर्ड्सका सदस्य लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षण वैज्ञानिक डा. एरिक डाइनरस्टाइन तथा अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी प्राध्यापक डा. विन्डी राइट रहेका छन्।

    मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय साख अभिवृद्धि, वैज्ञानिक संरक्षणलाई सुदृढ बनाउने तथा विश्वस्तरीय अनुभवलाई नेपालको संरक्षण अभियानसँग जोड्ने उद्देश्यले उनीहरूलाई सदस्यमा मनोनयन गरिएको हो।

    लर्ड स्टोनर यूके–नेपाल ट्रस्टका अध्यक्षसमेत हुन्। उनको परिवार नेपालको संरक्षण तथा कूटनीतिक इतिहाससँग लामो समयदेखि जोडिएको छ भने उनले ब्रिटिस परोपकारी संस्थामार्फत नेपालको जैविक विविधता संरक्षणमा योगदान दिँदै आएका छन्।

    डा. एरिक डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघसम्बन्धी ऐतिहासिक अनुसन्धान गरेका थिए। उनले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा काम गर्दै तराई आर्क ल्यान्डस्केप अवधारणाको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।

    त्यस्तै, प्रा. डा. विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा अस्ट्रेलियाली विद्यार्थीहरूसहित अनुसन्धान र प्राज्ञिक सहकार्य गर्दै आएकी छन्।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्री चौधरीलाई कोषको अध्यक्षको जिम्मेवारी दिएपछि उनले संस्थाको ऐतिहासिक गरिमा पुनःस्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा कोषको पहिचान थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    मन्त्री चौधरीले विश्वस्तरीय वैज्ञानिक, प्राज्ञिक तथा कूटनीतिक व्यक्तित्वलाई कोषसँग आबद्ध गराएर नेपालको संरक्षण अभियानलाई आधुनिक प्रविधि, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्ने लक्ष्य लिएको बताइएको छ। साथै, कर्मचारी प्रशासनसम्बन्धी विनियमावलीसमेत चाँडै संशोधन गर्ने तयारी रहेको जनाइएको छ।

    चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा समुदायमा आधारित संरक्षण तथा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान दिँदै आएको छ। नयाँ मनोनयनले संस्थाको नीतिगत, वैज्ञानिक र अन्तर्राष्ट्रिय क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।