काठमाडौँ– ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसाको स्टिकर हटाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सिंहदरबार पुगेर गृहमन्त्री र सचिवको सरकारी गाडीबाट कालो सिसा हटाएको हो। डीएसपी सुनिलजंग शाहको नेतृत्वमा पुगेको टोलीले उक्त कार्य सम्पन्न गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयकै समन्वयमा ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाइएको हो।
ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीका अनुसार अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको छ।
यसअघि सोमबार गृहमन्त्री गुरुङ स्वयं काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो गाडीको कालो सिसा हटाउन निर्देशन दिएका थिए। साथै, उनले नियमविपरीत जडान गरिएका कालो सिसा हटाउने अभियानलाई थप तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।