जलवायुमैत्री प्रविधिमार्फत धान उत्पादन बढाउने लक्ष्यसहित आज २३औँ राष्ट्रिय धान दिवस मनाइँदै - Chaitanya News
  • 2026-08-12
  • 23:36:20
  • बुधबार,साउन २७, २०८३
  • जलवायुमैत्री प्रविधिमार्फत धान उत्पादन बढाउने लक्ष्यसहित आज २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

    जलवायुमैत्री प्रविधिमार्फत धान उत्पादन बढाउने लक्ष्यसहित आज २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौँ– सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाउँदै छ। जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले देशभर विभिन्न कार्यक्रम आयोजना गरिने कृषि विभागले जनाएको छ।

    विसं २०६१ देखि मनाउन थालिएको राष्ट्रिय धान दिवसको २३औँ संस्करणका अवसरमा प्रदेश तथा स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम, रोपाइँ महोत्सव तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सचेतना अभियान सञ्चालन गरिनेछ।

    कृषि विभागका महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सन्जेलले धान दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्त्वबारे जनचेतना फैलाउनुका साथै धान प्रवर्द्धनका लागि सरकारले गरेका प्रयासलाई नागरिकसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले दिवस सफल बनाउन सरोकारवाला निकाय र सञ्चारमाध्यमलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

    मुख्य समारोह असार १५ गते नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजना हुनेछ। कार्यक्रममा धान उत्पादन, अनुसन्धान तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने कृषक, वैज्ञानिक, उद्यमी तथा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।

    कृषि विभागका अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन्। कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा यसको हिस्सा ५० प्रतिशत रहेको छ।

    विगत पाँच वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिकटनबाट बढेर ४.१९ मेट्रिकटन पुगेको विभागको तथ्याङ्क छ। आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएको थियो। तर मुलुकको वार्षिक आवश्यकता करिब ७० लाख मेट्रिकटन रहेकाले अझै करिब १० लाख मेट्रिकटन धान अपुग हुने अवस्था रहेको विभागले जनाएको छ।

    विभागका अनुसार जलवायु परिवर्तनका कारण सुक्खा, बाढी तथा डुबानजस्ता प्राकृतिक विपद्ले धान उत्पादनमा चुनौती थपिरहेका छन्। यसलाई मध्यनजर गर्दै सरकारले जलवायुमैत्री कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ। साथै, नेपाल कृषि अनुसन्धान परिषद्ले सुक्खा तथा डुबान दुवै सहन सक्ने उन्नत धानका जात विकास गरी किसानसम्म विस्तार गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।