काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताएका छन्।
आज (शुक्रबार) अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताए। “अन्तर निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, गृहमन्त्रीले भने।
लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुले बताए।
लागुऔषध दुर्व्यसनी मुक्त समाज बनाउन मन्त्रालयले यसको रोकथाम, नियन्त्रण र दुर्व्यसनीमा फसेकालाई उपचार गरी समाजमा पुनस्स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले बताए। “यो सामाजिक चुनौतीको समाधान सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । तसर्थ, स्थानीय समुदायले अगुवाइ गर्न र युवापुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन नागरिक समाज र सञ्चारमाध्यमलाई सामाजिक साझेदारीका लागि समेत पुनः आह्वान गर्दछु”, उनले सन्देशमा भनेका छन्।
यसैबीच, दिवसका अवसरमा आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले लागुऔषधको उत्पादन, वितरण र उपभोगको श्रृङ्खला तोड्ने गरी काम भइरहेको स्पष्ट पारे। “लागुऔषध उत्पादन रोक्नुपर्छ, मूलमा नै रोकियो भने त्यसपछिका ठाउँका असर कमजोर हुँदै जान्छन्। वितरण रोक्न सक्यौँ भने व्यक्तिसम्म पुग्दैन, प्रयोगकर्तालाई प्रयोगबाट निरुत्साहित गर्न सकियो भने ठूलो सफलता हुन्छ”, उनले भने।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषध अनुसन्धान र नियन्त्रणतर्फ वार्षिक औसत चार हजार मुद्दा दर्ता र आठ हजारको हाराहारीमा अभियुक्त पक्राउ पर्ने गरेका तथ्यांक प्रस्तुत गरे। चालु आवको हालसम्म पाँच हजार ४७ लागुऔषध मुद्दा दर्ता भएका र सोसम्बन्धी कसुरमा सात हजार ७२५ नेपाली, भारतीय ३२८ र अन्य १५ गरी आठ हजार ६८ जना पक्राउ गरिएको उनले जानकारी दिए।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषध राष्ट्रिय सुरक्षा, सामाजिक स्थायित्व, आर्थिक समृद्धि तथा भावी पुस्ताको भविष्यसँग जोडिएको बहु आयामिक चुनौतीका पमा खडा भएको बताए। “सीमापार अवैध ओसारपसार, सङ्गठित आपराधिक समूहको संलग्नता तथा आधुनिक प्रविधिको दुरुपयोगले सो समस्यालाई थप जटिल बनाउँदै लगेको छ। लागुऔषध नियन्त्रण तथा सीमापार ओसारपसार रोकथाममा सशस्त्र प्रहरी निरन्तर क्रियाशील छ”, उनले भने।
लागूपदार्थ प्रयोगकर्ता सर्वेक्षणअनुसार सन् २००६ मा नेपालमा प्रयोगकर्ता ४६ हजार ३०९ रहेकामा सन् २०२४ सम्म आइपुग्दा यो सङ्ख्या करिब एक लाख ५६ हजार पुगेको अनुमान गरिएको छ। कार्यक्रममा लागुऔषध दुर्व्यसनीलाई समाजमा पुनस्स्थापना गराउन भूमिका निर्वाह गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो। सो अवसरमा गृह मन्त्रालयले प्रकाशन गरेको ‘सुरक्षित जीवन’ जर्नल विमोचन गरिएको थियो।