काठमाडौँ– सशस्त्र प्रहरी बल (एपीएफ) ले मनसुनजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन देशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले जोखिमयुक्त स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। स्थापना गरिएका वेशमध्ये कोशी प्रदेशमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा रहेका छन्।
यसका अतिरिक्त सशस्त्र प्रहरीले देशका १६ स्थानमा स्थायी विपद् व्यवस्थापन वेश सञ्चालनमा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थापना गरिएका यी वेश वर्षभरि सञ्चालनमा रहने सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार मनसुनजन्य विपद्सँग जुध्न आठ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ। साथै, असार मसान्तभित्र सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि बाढी, पहिरो र डुबानजस्ता विपद्का कारण देशभर करिब ५१ हजार ८८६ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने आँकलन गरिएको छ।
उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीसँग रहेका ८२ वटा र्याफ्ट बोट, ५३ वटा मोटर बोट, ४ हजार ७१० जना विशेष तालिमप्राप्त जनशक्ति तथा १३४ जना गोताखोरलाई देशका ११ जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ।
एक लाख ६८ हजारभन्दा बढी विपद् सूचकको सञ्जाल:
विपद्को सूचना समयमै प्राप्त गर्न सशस्त्र प्रहरीले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक समेटिएको सञ्जाल तयार गरेको छ। यी सूचकले आफ्नो क्षेत्रमा विपद् घट्नासाथ नजिकको सशस्त्र प्रहरी युनिटलाई तत्काल जानकारी गराउनेछन्।
त्यस्तै, विपद्का समयमा सूचना आदानप्रदान र शीघ्र परिचालनलाई सहज बनाउन सशस्त्र प्रहरीले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम (एपिएफ–सिएएस)’ सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमार्फत बाहिनी तहका परिचालन कक्षमा तत्काल सूचना पुग्ने र आवश्यक उद्धार तथा राहत कार्यका लागि शीघ्र परिचालन गर्न सकिने व्यवस्था गरिएको छ।