चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मङ्गलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रमा पार्टीका साङ्गठनिक, आर्थिक, राजनीतिक तथा नीतिगत विषयहरूमा विस्तृत छलफल हुने कार्यतालिका तय गरिएको छ।
महामन्त्रीको सञ्चालनमा हुने बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफल अगाडि बढाउने कार्यक्रम छ।
यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महाधिवेशनको प्रमुख आकर्षणका रूपमा रहेको विधान संशोधन प्रस्ताव सहमहामन्त्री विपिनकुमार आचार्यले पेश गर्नेछन्।
पार्टीको नीतिगत तथा वैचारिक दिशाबारे उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन्।
बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। साथै, आयोजक समितिले हालसम्म सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
बन्दसत्रको अन्तिम चरणमा निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ। आयोगले कार्यतालिका प्रकाशन गरेसँगै निर्वाचनका बाँकी प्रक्रियाहरू निरन्तर रूपमा अघि बढ्ने रास्वपाले जनाएको छ।