काठमाडौं– रास्वपाको महाधिवेशन लम्बिने भएको छ। बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए।
विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए।
यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको उनले बताए। ‘बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं। यसलाई स्वभाविक रुपमा लिएका छौं। यस्ता यस्ता सम्भावनाका कारण एक दिन लम्बिन सक्छ है भनेर हामीले अस्ति केन्द्रीय समितिको बैठकमा पनि चर्चा गरेका थियौं। त्यसैले मानसिक रुपमा हामी तयार छौं,’ प्रवक्ता झाले भने।
साथै, उनले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिए। सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आफूले पाएको उनले बताए।
यद्यपि मधेश प्रदेशका प्रतिनिधिहरू केही छुटेको र सोही छुटेकालाई समावेश गर्नेगरी गृहकार्य भइरहेको उनले बताए।
‘बन्द सत्र सुरु हुन्छ। तर अलि विलम्ब भइसकेको छ। अहिले हामीले हिजोको सूची अनुसारको दर्ता सुरुवात गरेका छौं,’ उनले भने, ‘जति छुटेको छ अर्को टिमले त्यसमा होमवर्क गरौं भनेर गरेका छौं।’