रास्वपा महाधिवेशनः प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र सुरु हुने समय लम्बियो - Chaitanya News
  • 2026-08-06
  • 19:49:52
  • बिहिबार,साउन २१, २०८३
  • रास्वपा महाधिवेशनः प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र सुरु हुने समय लम्बियो

    रास्वपा महाधिवेशनः प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र सुरु हुने समय लम्बियो

    चितवन–चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ।

    आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो। तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा सुरू गर्न समस्या परेको हो।

    रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउनेक्रम चलिरहेको छ। यो सकिएपछि मात्र प्रतिनिधिहरू निश्चित हुन्छन्। नेताहरूका अनुसार बन्दसत्र सुरू हुन नै अपराह्न अबेर हुनसक्छ।

    प्रतिनिधिहरूको नाम, थर, ठेगाना नै नमिलेका कारण उनीहरूको कार्ड बन्न सकेको छैन। मधेस लगायतका प्रदेशका त प्रतिनिधिहरू को रहने भन्नेमा पनि विवाद थियो।

    निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो।

    अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ।

    बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ।