काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिएको हो। पार्टीद्वारा सार्वजनिक विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत रहने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा। राम गुरुङ रहेका छन्। आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपि दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली रहेका छन्।
यसैगरी, महाधिवेशनलाई प्रत्यक्ष रूपमा सञ्चालन गर्न गठित निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा।दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा चयन भएङ्का छन्। समितिको कार्यसम्पादनमा सहयोग पुर्याउन चार जना निर्वाचन कर्मचारीहरू समेत तोकिएको छ, जसमा शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झा रहेका छन्।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र निर्वाचन प्रक्रियालाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्न यो समितिले भूमिका खेल्ने उल्लेख गरेका छन्। पार्टीको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ।