काठमाडौं– नीति र नेतृत्व चयन गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ।
तीन दिनको कार्यतालिका तय गरिएको महाधिवेशनमा राजनीतिक, सांगठानिक, विधान लगायत प्रतिवेदन प्रस्तुत हुँदैछ। यसपछि महाधिवेशन नेतृत्व चयन गर्ने कार्यसूचीमा प्रवेश गर्नेछ।
यो महाधिवेशनले रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने पक्का छ। शीर्ष नेताहरू महत्वपूर्ण राजकीय भूमिकामा रहेकाले रविलाई निर्विरोध सभापति घोषणा गरिनेमा कुनै शंका छैन।
उपसभापति डा.स्वर्णिम वाग्ले सरकारमा अर्थमन्त्री छन्। उनलाई पनि एक उपसभापतिमा निर्विरोध गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई बरिष्ठ नेताको स्थान पक्का गरिएको छ। यो पदलाई निर्वाचन प्रक्रियामै सामेल नगराउने तयारी भइरहेको छ।
बाँकी पदहरूमा प्रतिस्पर्धा हुने देखिन्छ। रास्वपाको संशोधित विधान बमोजिम एक महिलासहित तीन उपसभापति रहनेछन्। अर्थमन्त्री वाग्लेको स्थान सुरक्षित गरिँदा अर्का एक खुला उपसभापतिमा प्रतिस्पर्धा हुनेछ।
यो पदमा तीन जना त मन्त्रीहरू नै आकांक्षी छन्। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनालले आकांक्षा राखेका छन् । स्रोतका अनुसार उपसभापतिकै चाहनामा प्रधानमन्त्रीका सल्लाहकार असिम साह पनि छन्।
योभन्दा चर्को प्रतिस्पर्धा महिला उपसभापति पदमा देखिन्छ । पार्टीका सिनियर नेताहरुले यही पद ताकेका छन्। सहमहामन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीले बढुवा भएर उपसभापति बन्ने चाहना राखेका छन्।
कानुनमन्त्री रहेकी सोविता गौतमले पनि उपसभापति बन्ने आकांक्षा राखेकी छन्। उनी रास्वपाका संस्थापक केन्द्रीय सदस्य हुन्।
यो पदका निम्ति समीक्षा बाँस्कोटाले पनि आकांक्षा राखेकी छन्। विवेकशील साझा पार्टीको अध्यक्ष भइसकेकी बाँस्कोटाले उपसभापति पदलाई स्वभाविक मानेकी छन्।
यद्यपि आकांक्षीहरूबीच सहमति जुटाएर निर्विरोध गराउने प्रयत्न रास्वपाभित्र भइरहेको स्रोत बताउँछ।