काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नदिने विषयमा कांग्रेस अझै निर्णयमा पुग्न सकेको छैन ।
आज बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीहरुको बैठकमा कांग्रेसका पदाधिकारी विभाजित भएको बुझिएको छ ।
स्रोतका अनुसार कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला र प्रकाशमान सिंह विश्वासको मत दिन नहुने पक्षमा उभिएका थिए । त्यस्तै सभापति देउवाले कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने तर पार्टी भित्र एकमतले यो निर्णय गर्नुपर्ने विचार राखेका थिए ।
विश्वासको मतको विषयमा पदाधिकारीबीच मत बाझिएपछि सभापति देउवाले पार्टीबाट आधिकारीक निर्णय गराउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
कांग्रेसको विधानले पदाधिकारीको निर्णयलाई आधिकारिक नमान्ने भएकाले सभापति देउवाले कार्यसम्पादन समितिबाट आधिकारीक निर्णय गराउन खोजेको बताइएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजै केहीबेरमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमै बस्ने भएको छ ।