काठमाडौं– लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे।
यस्तै विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे।
कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्। उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे।
विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए। उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने।
तर उज्बेकिस्तानको बराबरी गोलको खुशी धेरै समय टिकेन। त्यसको पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए।
त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३–१ को जित दिलाए।
यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए।