काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् ।
उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने बताए ।
‘निर्वाचनअगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘ आज फेरि भन्छु । सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’
उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् ।
बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गरिरहेको छ।