काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सरकारको स्पष्ट धारणा माग गरेका छन्।
आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आन्दोलनसँग सम्बन्धित विषयमा राष्ट्रिय मानव अधिकार आयोगले दिएको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जानकारी दिन सरकारसँग आग्रह गरे।
सांसद राईले आन्दोलनमा संलग्न केही व्यक्तिहरू अहिले मन्त्री तथा सांसदका रूपमा राज्य सञ्चालनमा सहभागी रहेको उल्लेख गर्दै त्यही आन्दोलनमा सहभागी अन्य नागरिक भने अझै कानुनी प्रक्रियाका क्रममा कारागारमा रहनुपरेको अवस्थाप्रति प्रश्न उठाए।
उनले कानुनी उपचार र न्यायिक प्रक्रियामा सबै नागरिकप्रति समान दृष्टिकोण अपनाइनुपर्ने आवश्यकता औँल्याउँदै आन्दोलनसँग सम्बन्धित मुद्दाहरूमा देखिएको फरक अवस्थाबारे सरकारको जवाफ माग गरे।
राईका अनुसार आन्दोलनपछिका घटनामा विभिन्न जिल्लामा दर्ता भएका ९७३ वटा मुद्दामध्ये केही अभियुक्त तारेख वा धरौटीमा रिहा भए पनि करिब २०० जना अझै पुर्पक्षका लागि थुनामा रहेका छन्। उनले यस विषयमा सरकारको नीति र आगामी कदमबारे संसद्लाई जानकारी गराउन आग्रह गरेका छन्।